भरतपुर, ११ वैशाख ।
स्थानीय पाठ्यक्रम (local curriculum) मा रक्तदान शिक्षालाई समावेश गर्न शैक्षिक प्रशासन महाशाखालाई रक्त अभियन्ताहरूले ध्यानाकर्षण गराएका छन् । महाशाखा प्रमुख सुवासचन्द्र आचार्यलाई एक ध्यानाकर्षण पत्र हस्तान्तरण गर्दै यही शैक्षिक सत्रदेखि रक्तदान शिक्षाको विषयवस्तु समावेश गर्न अनुरोध गरिएको हो ।
कार्यक्रममा डाक्टर भोजराज अधिकारी, डाक्टर प्रतीक न्यौपाने, डाक्टर सिर्जना भुर्तेल, अर्जुन अधिकारी, हरिप्रसाद न्यौपाने, राजेन्द्रप्रसाद पौडेल, सुरेन्द्र धिताल, विपिन पाठक, दुर्गा पाण्डे, युवराज न्यौपाने, दीपक घिमिरेलगायतको उपस्थिति रहेको थियोे । ध्यानाकर्षण पत्र बुझ्दै महाशाखा प्रमुख सुवासचन्द्र आचार्यले यो गहन र महत्त्वपूर्ण विषय उठान गरिएकोमा यसै शैक्षिक सत्रदेखि कक्षा ५ देखि ७ सम्मको पाठ्यक्रममा समावेश गर्ने र आगामी वर्ष कक्षा आठको पाठ्यक्रममा पनि समावेश गर्ने गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यो मानवीय विषयलाई यसै शैक्षिक सत्र देखि समावेश गर्न डाक्टर प्रतीक न्यौपानेको संयोजकत्वमा डाक्टर सिर्जना भुर्तेल विपिन पाठक, हरिप्रसाद न्यौपाने तथा अर्जुन अधिकारी रहने पाँच सदस्य पाठ्यक्रम निर्माण सहजीकरण समिति समेत बनाइएको छ । पाठ्यक्रममा रक्तदान शिक्षा समावेश गर्न सके बालबालिकाको हृदयमा करुणा र सेवाभावको बीज रोपिने र असल नागरिक निर्माणमा समेत महत्वपूर्ण योगदान पुग्ने सरोकारवालाहरूको निष्कर्ष रहेको छ । अझै पनि मानिसहरूमा रक्तदान सम्बन्धी भ्रम र भय रहेका कारणले पनि नियमित रक्तदाताहरूको संख्या कम रहेको छ । बेलाबेला चितवनमा रगत अभाव खड्किरहँदा स्वयंसेवी भूमिका खेलिरहेका अभियन्ताहरूले व्यवस्थापन गर्ने गरेका छन् ।





