मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा खनाल नियुक्त

मकवानपुर, ११ वैशाख ।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख राजनीतिक सल्लाहकार पदमा दामोदर खनाल नियुक्त भएका छन् ।

विहीबारको मन्त्रिपरिषद्को वैठकले मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार पदमा खनाललाई नियुक्त गरिएको हो । उनी नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर–१ को सभापति हुन् । यसैगरी खनाल बकैया गाउँपालिकाका २०७४ सालको निर्वाचनमा विजयी पालिका अध्यक्ष समेत हुन् ।

यसअघिका सल्लाहकार तथा कांग्रेस मकवानपुर सभापति बुद्ध लामा फागुन २१ मा सम्पन्न प्रतिनिधिसभाका निर्वाचनमा उम्मेदवार भएपछि प्रमुख सल्लाहकार पद रिक्त रहेको थियो ।

सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री प्रभात तामाङका अनुसार बैठकले बागमती प्रदेश विश्वविद्यालयको संरक्षक सदस्यमा पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति डा.प्रेमनारायण अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यसैगरी सूचना प्रतिवेदन समितिको अध्यक्षमा धादिङका कृष्णराज अधिकारी र सदस्यमा मकवानपुरका अशोक श्रेष्ठलाई मनोनयन गरेको उनले बताए ।

सामाजिक विकास मन्त्रालयमा कार्यरत प्रदेश सचिव खुबीराम अधिकारीलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको समेत थप जिम्मेवारी हेर्ने गरी खटाउने निर्णय गरेको छ । यसअघि सहकारी तथा गरिबी निवारण मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आएका बाबुराम पुरीलाई सो मन्त्रालयको जिम्मेवारीबाट हटाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मात्र जिम्मेवारी तोकिएको छ ।

बैठकले नमोबुद्ध क्षेत्र विकास समितिको अध्यक्षमा शंखबुद्ध लामालाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता तामाङले बताए । बैठकले प्रदेशको ११औँ तहमा कार्यरत स्वास्थ्य सेवाका डा.अर्जुनप्रसाद सापकोटाको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ भने समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका पदाधिकारी दामोदर केसीले स्वास्थ्यका कारण दिएको राजीनामा माघ ५ गतेदेखि लागू हुने गरी स्वीकृत गर्ने निर्णय गरेको छ ।

मन्त्री तामाङका अनुसार बैठकले जेनजी आन्दोलनको क्रममा जलेका कार्यसम्पादन मूल्याङ्कन व्यवस्थापनका लागि नयाँ नीति पारित गरेको छ । बैठकले गरिबी निवारण नीति २०८२ र शैक्षिक छात्रवृत्ति निर्देशिका २०८३ लाई स्वीकृति प्रदान गरेको छ ।

बैठकले प्रदेश पर्यटन (पहिलो संशोधन) ऐन २०८२ को मस्यौदा र प्रदेश राष्ट्रिय वन ऐन (पहिलो संशोधन) २०८३ लाई प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरेको छ । बैठकले त्रिभुवन पार्क सञ्चालन तथा व्यवस्थापन समिति (पहिलो संशोधन) गठन आदेश २०८२ र आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि स्थानीय तहहरूलाई हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदानको रकम स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट