काठमाडौं, १० वैशाख ।
‘फेन्टासी कमेडी ड्रामा’ विधामा निर्माण भएको चलचित्र लाइफ ड्यामेजको ‘ब्युटिफूलम’ बोलको गीत सार्वजनिक गरिएको छ । जेठ १ गते प्रदर्शन मिति घोषणा गरिएको यस चलचित्रको गीत राजधानी काठमाडौंमा एक कार्यक्रमबीच रिलिज गरिएको हो ।
सार्वजनिक डान्सिङ नम्बरको गीतमा नवलपुरका सञ्चारकर्मी आदर्श सुशीलको शब्द रचना रहेको छ भने एसडी योगीको संगीत तथा एसडी योगी र रेश्मा पुनको स्वर समावेश छ । गीतको भिडियोको कोरियोग्राफी किरण थापाले गरेका हुन् ।
चलचित्रको कथा निमेष श्रेष्ठ, ईशा थापा र अभिषेक खरेलले संयुक्त रूपमा लेखेका हुन् । पहिलोपटक निर्देशनमा हात हालेका श्रेष्ठले लाइफ ड्यामेज दर्शकका लागि मनोरञ्जनात्मक र फरक स्वादको ‘फेन्टासी कमेडी ड्रामा’ हुने बताएका छन् । कार्यक्रममा उनले सिनेमा हेर्दासम्म रमाइलो हुने र दर्शकको मन जित्नेमा आफू विश्वस्त रहेको बताए ।
अभिनेत्री सुरक्षा पन्तले सिनेमाको अवधारणा मन परेकाले आफूले काम गरेको बताइन् । चलचित्रमा प्रवीण खड्काको छायांकन र बिकेन कार्कीको सम्पादन रहेको छ भने देशव्यापी वितरणको जिम्मा बटरफ्लाई फिल्म्सले लिएको छ । गीतको भिडियो फन रिभोलुसनको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
केही वर्षयता कन्टेन्ट क्रियटरका रूपमा परिचित निमेष श्रेष्ठले यस चलचित्रमार्फत निर्देशनमा डेब्यु गरेका हुन् । उनले अभिनेत्री सुरक्षा पन्तसँग स्क्रिन सेयर समेत गरेका छन् । फन रिभोलुसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा सुरक्षा पन्त र निमेष श्रेष्ठका साथै ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनीश जंग थापा, अजय पन्त, सविन बास्तोला र निरु खड्कालगायत कलाकारहरूको अभिनय रहेको छ ।





