काठमाडौं, ९ वैशाख ।
सरकारले महत्वपूर्ण नीतिगत र प्रशासनिक निर्णयहरू गर्दै धितोपत्र बजारदेखि सहकारी व्यवस्थापनसम्मका क्षेत्रमा नयाँ कदम चालेको छ ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा अर्थ सचिव घनश्याम उपाध्याय र भूवन कुमार दाहाल सदस्य रहनेगरी सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । उक्त समितिले बोर्डको नयाँ नेतृत्व चयन प्रक्रिया अगाडि बढाउनेछ ।
त्यसैगरी, सरकारले कानुनी सुधारलाई तीव्रता दिँदै नेपाल विशेष सेवा ऐन २०४२, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ र मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेका विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ । यी संशोधनहरूले शासन प्रणालीलाई अझ प्रभावकारी र अद्यावधिक बनाउने अपेक्षा गरिएको छ।
यस्तै, समस्याग्रस्त सहकारी संस्थाहरूको व्यवस्थापनलाई व्यवस्थित बनाउन सरकारले समितिमा नयाँ नेतृत्व नियुक्त गरेको छ । समितिको अध्यक्षमा डिल्लिराज आचार्य (प्युठान) नियुक्त भएका छन् भने सदस्यमा नवराज सिम्खडा (धादिङ) र रोशनबहादुर शाक्य (ललितपुर) मनोनयन भएका छन् ।
सरकारका यी निर्णयहरूलाई प्रशासनिक सुधार, वित्तीय क्षेत्र सुदृढीकरण र निर्वाचन प्रणाली परिमार्जनतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।




