चितवन, ७ वैशाख ।
पवित्र तीर्थस्थल देवघाटधामका केही धर्मशालाहरू अव्यवस्थित र लथालिङ्ग बन्दै गएको भन्दै विश्व हिन्दु युवा संघ चितवन तथा जय सनातन अभियानका अध्यक्ष श्याम पौडेलले चिन्ता व्यक्त गर्नुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उहाँले धर्मशालाहरूको सदुपयोग र प्रभावकारी व्यवस्थापन हुन नसकेको बताउनुभयो । तीर्थयात्री तथा भक्तजनलाई सेवा दिन निर्माण गरिएका धर्मशालाहरू अपेक्षित उद्देश्यअनुसार सञ्चालन हुन नसक्दा यसको मूल मर्म कमजोर बनेको उहाँको भनाइ छ ।
पौडेलले देवघाटजस्तो ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको स्थानका धर्मशालाहरूको अवस्था सुधार गर्न स्थानीय सरकार तथा सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । “धर्मशालाहरू व्यापारिक केन्द्रका रूपमा प्रयोग हुनु हाम्रो धार्मिक परम्परा र संस्कृतिविपरीत कुरा हो,” उहाँले उल्लेख गर्नुभएको छ ।
त्यस्तै, श्रद्धालु भक्तजन तथा तीर्थयात्रीहरूबाट तीव्र गुनासो आइरहेको जनाउँदै देवघाटको गरिमामा आँच आउने गतिविधि स्वीकार्य नहुने उहाँले बताउनुभयो । धर्मशाला व्यवस्थापन समितिहरूलाई सचेत गराउँदै उहाँले सेवा र धर्मसँग जोडिएको मूल उद्देश्यअनुसार सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।
धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा परिचित देवघाट क्षेत्रमा वर्षेनी हजारौँ तीर्थयात्री आउने गरेका छन् । यस्तो अवस्थामा धर्मशालाको व्यवस्थित सञ्चालनले धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।
स्थानीयवासी तथा सरोकारवालाहरूले पनि स्पष्ट नीति, नियमित अनुगमन र पारदर्शी सञ्चालन प्रणाली आवश्यक रहेको बताएका छन् । पौडेलले अनुगमन तथा नियमनको जिम्मेवारी पाएको देवघाट क्षेत्र विकास समिति को मौनतामाथि प्रश्न उठाउँदै धर्मशाला, मन्दिर र गुरुकुलहरूको व्यवस्थापनबारे स्पष्ट योजना तत्काल ल्याउन माग गर्नुभएको छ ।
धार्मिक क्षेत्रका विकृतिविरुद्ध निरन्तर आवाज उठाउँदै आउनुभएका पौडेलले देवघाटको गरिमा जोगाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभएको छ ।




