मकवानपुर, २ वैशाख ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले राहदानी सेवाग्राहीको घरमै पुर्याउने सेवाको थालनी गरेको छ । बुधबारदेखि हेटौंडा उपमहानगरपालिकाका सेवाग्राहीलाई हुलाकमार्फत घरमै राहदानी पुर्याएर सेवा सुरु गरिएको हो ।
जिल्ला हुलाक कार्यालय मकवानपुरले हेटौंडा–४ का २२ वर्षीय निश्चल मानन्धरलाई पहिलोपटक घरमै राहदानी बुझाएको छ । राहदानी वितरणका लागि हुलाक कार्यालयका प्रमुख, जिल्ला प्रशासन कार्यालयका कर्मचारी तथा हल्कारा मानन्धरको घरमै पुगेका थिए ।
यसैक्रममा जिल्ला प्रशासन कार्यालयले वितरणका लागि बुधबार ५० वटा राहदानी हुलाक कार्यालयलाई पठाएको छ । ती राहदानी सोही दिन घर–घरमा पुर्याइने जिल्ला हुलाक कार्यालय प्रमुख रमेश लामिछानेले जानकारी दिए ।
सरकारले एक सय दिनभित्र सेवा प्रवाह सुधार गर्ने प्रतिबद्धताअन्तर्गत बुँदा नम्बर २७ कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालयको समन्वयमा हुलाक कार्यालयले यो सेवा सुरु गरेको हो । यसबाट सेवाग्राहीको समय र श्रम बचत हुने अपेक्षा गरिएको छ भने वितरण प्रणालीलाई थप सहज र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ ।





