काठमाडौं, २८ चैत ।
गृहमन्त्री सुधन गुरुङले नागढुङ्गा–मुग्लिङ सडक आयोजनामा ढिलासुस्ती गर्ने तथा गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने चेतावनी दिएका छन् ।
स्थलगत अनुगमनका क्रममा उनले सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई कुनै पनि हालतमा उन्मुक्ति नदिइने स्पष्ट पारे । “काममा बहानाबाजी सह्य हुँदैन,” उनले भने, “निर्धारित मापदण्ड पूरा नगर्नेहरूलाई तुरुन्त कालोसूचीमा राखिन्छ ।”
अनुगमनका क्रममा आयोजनाले नदीजन्य निर्माण सामग्रीको अभाव, स्थानीय तहको अवरोध, दोहोरो कर तथा प्रशासनिक जटिलतालाई मुख्य समस्या औंल्याएको थियो ।
गृहमन्त्री गुरुङले ती समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयहरूबीच समन्वय गरी सहजीकरण गर्ने र विकास आयोजनामा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्ने आश्वासन दिए । साथै उनले तोकिएको समयमै उच्च गुणस्तरका साथ सडक निर्माण सम्पन्न गर्न निर्देशनसमेत दिएका छन् ।




