दोलखा, २८ चैत ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको बैठक दोलखाको पर्यटकीय नगरी जिरीमा सम्पन्न भएको छ । चैत २७ र २८ गते आयोजित उक्त बैठकमा प्रदेश समिति अन्तर्गतका जिल्ला अध्यक्षहरू तथा प्रदेशस्तरीय पत्रकार संगठनका अध्यक्ष एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
बैठकले विभिन्न समसामयिक विषयहरू समेट्दै ‘जिरी घोषणा पत्र’ सार्वजनिक गरेको छ । घोषणा पत्रमार्फत सरकारी विज्ञापन प्रकाशन–प्रसारणमा देखिएको अनियमितता र भ्रष्टाचार नियन्त्रणका लागि सरकारका प्रयासहरूको स्वागत गर्दै त्यसभित्रका विकृतिहरूको निष्पक्ष छानबिन गर्न माग गरिएको छ ।
त्यस्तै, श्रमजीवी पत्रकारहरूले सञ्चालन गरेका साना तथा स्वरोजगारमुखी सञ्चारमाध्यमहरूको हितका लागि पूर्ण समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्न जोड दिइएको छ । स्थानीय तहबाट प्रवाह हुने सूचना तथा जनचेतनामूलक सन्देशहरू स्थानीय सञ्चारमाध्यममार्फत नै प्रकाशन–प्रसारण हुने व्यवस्था मिलाउन तीनै तहका सरकारको ध्यानाकर्षण गराइएको छ ।
घोषणा पत्रमा संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने कुनै पनि गतिविधि नगर्न सरकारसँग आग्रह गरिएको छ । साथै, प्रदेश सरकारका निकायमा दर्ता भएका सञ्चारमाध्यमसम्बन्धी अन्योलता अन्त्य गर्न संघीय र प्रदेश सरकारबीच समन्वय गरी तत्काल समस्या समाधान गर्नुपर्ने उल्लेख गरिएको छ ।
बागमती प्रदेश सरकारलाई सञ्चार रजिस्ट्रार कार्यालय कायम राख्न आग्रह गर्दै सञ्चारकर्मीहरूलाई जोखिमपूर्ण रिपोर्टिङका क्रममा व्यक्तिगत सुरक्षामा ध्यान दिँदै जिम्मेवार, व्यावसायिक र स्वतन्त्र पत्रकारिता अभ्यास गर्न अपिल गरिएको छ ।
महासंघको भूमिकाप्रति पनि ध्यानाकर्षण गराउँदै घोषणा पत्रमा पछिल्ला घटनाक्रमले आम श्रमजीवी पत्रकारहरूको अभिभावकको रूपमा महासंघको भूमिका प्रभावकारी हुन नसकेको उल्लेख गरिएको छ। यसले प्रदेश, जिल्ला तथा पत्रकारहरूमा नकारात्मक असर परेको भन्दै केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण गराइएको छ ।
यसैगरी, प्रकृति तथा वातावरणीय सन्तुलन कायम राख्न आदिवासी जनजाति र स्थानीय समुदायको रैथाने ज्ञानलाई विज्ञानसम्मत रूपमा अभिलेखीकरण गरी नीति निर्माण तहसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरिएको छ । जलवायु परिवर्तनबाट प्रभावित महिला, दलित, गरिब तथा सीमान्तकृत समुदायको आवाजलाई समाचारको केन्द्रमा राख्ने र उनीहरूको न्यायका पक्षमा काम गर्न सम्बन्धित निकायलाई सचेत गराइएको छ ।
घोषणा पत्रमा जिरी तथा आसपासका क्षेत्रका प्राकृतिक सम्पदामा जलवायु परिवर्तनले पारेको प्रभाव न्यूनीकरणका लागि आवश्यक पहल गर्न तीनै तहका सरकारसमक्ष माग गरिएको छ ।
कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने वन तथा वातावरण मन्त्रालय, बागमती प्रदेश सरकार, नेपाल पत्रकार महासंघ दोलखा शाखा तथा स्थानीय पर्यटन व्यवसायीहरूलाई धन्यवाद व्यक्त गरिएको छ ।





