मकवानपुर, २८ चैत ।
सिस्नुपानी नेपाल मकवानपुरले २ जना हास्यव्यङ्ग्य सर्जकलाई नगदसहित सम्मान गर्ने भएकाे छ । नेपाली हास्यव्यङ्ग्य सिर्जनामा महत्वपूर्ण योगदान पुर्याउने अग्रज तथा नवप्रतिभा गरी २ जनालाई सिस्नुपानी मकवानपुरले सम्मान गर्न लागेकाे हाे ।
यस वर्ष गणेशकुमार पौडेल हास्यव्यङ्ग्य सम्मान २०८२ सम्मानबाट नरनाथ लुइँटेललाई सम्मान गरिने भएकाे छ । सिस्नुपानी नेपाल तथा हास्यव्यङ्ग्य अनलाइन फित्कौली डटकममा आवद्ध रहेका लुइँटेललाई २५ हजार राशिकाे उक्त पुरस्कारबाट सम्मान गरिने अध्यक्ष सम्प्रस पौडेलले जानकारी दिए ।
यसैगरी हास्यव्यङ्ग्य कलाकार सीता न्यौपानेलाई आरसी रिजाल हास्यव्यङ्ग्य सम्मान २०८२ बाट सम्मान गरिने भएकाे छ । स्ट्याण्ड अप कमेडीका कलाकार न्यौपानेलाई २० हजार राशिकाे उक्त पुरस्कारबाट सम्मान गरिने पौडेलले बताए । १९ वैशाख २०८३ मा हेटौंडामा दुवै जनालाई एक कार्यक्रमकाे आयोजना गरी सम्मान गरिने बताइएकाे छ । अग्रज तथा नवप्रतिभासमेतलाई २ जना स्रस्टाहरूलाई सिस्नुपानी नेपाल मकवानपुरले हरेक वर्ष सम्मान समर्पण गर्दै आइरहेको छ ।
आगमी वैशाख १९ गते हास्यव्यङ्ग्य विशेष प्रतियोगितात्मक प्रहसन कार्यक्रम समेत हुने भएकाे छ । सिस्नुपानी नेपाल मकवानपुरको आयोजना र हेटौंडा उपमहानगरपालिकाको प्रवर्धनमा हुने उक्त कार्यक्रममा मकवानपुर जिल्लाभित्र अध्ययनरत कक्षा १२ सम्मका विद्यार्थीहरू प्रतियोगितामा सहभागी हुन सक्ने अध्यक्ष पौडेलले जानकारी दिए ।
उक्त कार्यक्रममा विद्यालयको पत्रसहित प्रत्येक समूहमा २ जनादेखि बढीमा ५ जनासम्म सहभागी जनाउन पाउने छन् । प्रतियोगितामा सामाजिक, राजनीतिक, आर्थिक तथा प्रशासनिक वेथितिलगायतका समसामयिक विषयहरूमाथि सभ्यरूपमा हास्यव्यङ्ग्य गर्न सकिने उनले बताए ।
प्रहसन कार्यक्रम प्रथम हुने समूहले नगद १५ हजार र सम्मानपत्र तथा द्वितीय हुने समूहले नगद १० हजार र सम्मानपत्र प्राप्त गर्ने छन् । यस्तै तृतीय हुने समूहले नगद ७ हजार र सम्मानपत्र र प्रोत्साहन पुरस्कार नगद ४ हजार प्रदान गरिने आयोजकले जनाएकाे छ ।




