चितवन, २७ चैत ।
चितवन राष्ट्रिय निकुञ्जभित्र नियमित गस्तीका क्रममा गैंडासँग भएको आकस्मिक मुठभेडमा एक सैनिक घाइते भएका छन् भने सोही घटनामा एक पोथी एकसिङ्गे गैंडाको मृत्यु भएको छ ।
मिति २०८२ चैत २६ गते दिउँसो करिब १२:५० बजे श्री नयाँ गोरख गणअन्तर्गत सेरी सुरक्षा पोष्टबाट खटिएको गस्ती टोली निकुञ्जको कोर क्षेत्रमा गस्ती गर्दै जाने क्रममा अर्धबयस्क बच्चासहितको पोथी गैंडासँग अचानक जम्काभेट भएको थियो ।
निकुञ्ज सुरक्षा स्रोतका अनुसार गस्ती टोलीले सावधानी अपनाए पनि गैंडाले एक सैनिकमाथि आक्रमण गरेको थियो। घाइते सैनिकको ज्यान जोगाउन र स्थिति नियन्त्रणमा लिन गस्ती कमाण्डरको आदेशमा हवाई फायर गरिएको थियो । तर अवस्था नियन्त्रणमा नआएपछि थप फायरिङ गरिएको बताइएको छ ।
घटनामा गोली लागेर करिब २४ वर्ष उमेरको पोथी गैंडा घटनास्थलमै मरेको निकुञ्जले जनाएको छ। प्रारम्भिक पशु चिकित्सकीय परीक्षणअनुसार गैंडाको फोक्सोमा चोट लागेको देखिएको छ ।
गैंडाको आक्रमणबाट घाइते सैनिकलाई तत्काल उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँस्थित वीर अस्पताल, छाउनीमा उपचारका लागि पठाइएको छ। उनको अवस्था गम्भीर रहेको जनाइएको छ ।
निकुञ्ज प्रशासनले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइएको जनाएको छ ।




