४ जीपीएमा चम्कियो वाल्मीकि शिक्षा सदन, भरतपुरमै उत्कृष्ट नतिजाको गौरव

भरतपुर, २७ चैत ।
भरतपुर महानगरपालिकाद्वारा सञ्चालित आधारभूत शिक्षा उत्तीर्ण परीक्षा (BLE)मा भरतपुर–४ स्थित वाल्मीकि शिक्षा सदनले यस वर्ष पनि उत्कृष्ट नतिजा हासिल गरेको छ ।

विद्यालयका ३ जना प्रतिभाशाली विद्यार्थी अन्वेषा अधिकारी, आयान त्रिपाठी र प्राञ्जली पराजुलीले ४ जीपीए हासिल गर्दै विद्यालय मात्र नभई सम्पूर्ण भरतपुर महानगरपालिकाकै गौरव बढाएको विद्यालयका प्राचार्य प्रदीप पौडेलले जानकारी दिनुभयो ।

यस वर्ष महानगरभित्र जम्मा ८ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन्, जसमध्ये ३ जना वाल्मीकि शिक्षा सदनकै हुनु विद्यालयको गुणस्तरीय शिक्षाको स्पष्ट प्रमाण भएको प्राचार्य पौडेलको भनाइ छ ।

विद्यालयका सहायक प्राचार्य प्रकाश सुवेदीका अनुसार विद्यालयले लगातार चौथो वर्षसम्म उत्कृष्ट प्रदर्शन गर्दै ४ जीपीए कायम राख्न सफल भएको छ । यस उपलब्धिले विद्यार्थीको मेहनत, लगनशीलता र विद्यालयको समर्पित शैक्षिक वातावरणलाई झल्काएको उहाँले बताउनुभयो ।

केवल शीर्ष स्थानमा सीमित नभई विद्यालयले समग्र नतिजामा पनि प्रभावशाली सफलता हासिल गरेको छ । यस वर्ष ३.६० देखि ४.०० जीपीए ल्याउने ७० जना, ३.२० देखि ३.६० जीपीए ल्याउने ९३ जना र २.८० देखि ३.२० जीपीए प्राप्त गर्ने २९ जना विद्यार्थी रहेका छन् । यसले विद्यालयका अधिकांश विद्यार्थीले राम्रो शैक्षिक उपलब्धि हासिल गरेको देखाउँछ ।
सहायक प्राचार्य सुवेदीले भन्नुभयो, “हामीले विगतका वर्षहरूमा पनि एसईई परीक्षामा ४ जीपीएसहित उत्कृष्ट नतिजा ल्याउँदै आएका छौं, र यस वर्षको आधारभूत तहको नतिजाले हाम्रो प्रतिबद्धता अझ स्पष्ट बनाएको छ ।”

विद्यालय प्रशासन, शिक्षक तथा अभिभावकहरूको सामूहिक प्रयास र विद्यार्थीहरूको कडा मेहनतका कारण वाल्मीकि शिक्षा सदन भरतपुर क्षेत्रमा उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । आगामी दिनमा पनि यस विद्यालयले अझ उत्कृष्ट नतिजा ल्याउँदै नयाँ कीर्तिमान कायम गर्ने विश्वास गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट