चितवन, २८ चैत ।
मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरताले नेपालमा निर्माण क्षेत्र गम्भीर संकटमा परेको निर्माण व्यवसायी संघ चितवनले जनाएको छ ।
संघका अनुसार डिजेल, पेट्रोल, मट्टितेललगायत इन्धनजन्य सामग्रीको निरन्तर तथा अप्रत्याशित मूल्यवृद्धिले निर्माण कार्य प्रभावित हुँदै आएको छ। साथै, बिटुमिन, सिमेन्ट, डण्डीलगायत निर्माण सामग्रीमा भएको मूल्यवृद्धि र बजारमा देखिएको चरम अभावले समग्र निर्माण क्षेत्र ठप्प हुने जोखिम बढाएको छ ।
क्रसर उद्योगमा देखिएका समस्याले आपूर्ति शृंखला थप अवरुद्ध भएको संघले जनाएको छ । यसले निर्माण क्षेत्र थप दबाबमा परेको महासचिव पुष्कर अधिकारीले जानकारी दिनुभयो ।
संघले केन्द्रीय महासंघ, प्रदेश महासंघ तथा जिल्ला संघमार्फत नेपाल सरकार र सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउँदै आए पनि हालसम्म समस्या समाधानका लागि ठोस कदम नचालिएको गुनासो गरेको छ ।
महासचिव अधिकारीद्वारा जारी विज्ञप्तिमा ठेक्का मूल्य समायोजन राष्ट्र बैंकको मूल्य सूचकांक (इन्डेक्स) अनुसार मात्र हुने वर्तमान व्यवस्थाले वास्तविक बजार मूल्यवृद्धि प्रतिबिम्बित नगरेको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ । बजारमा निर्माण सामग्रीको मूल्य तीव्र रूपमा बढिरहे पनि इन्डेक्समा घटेको देखाइने प्रवृत्तिले व्यवसायीहरू थप आर्थिक संकटमा परेको उल्लेख गरिएको छ ।
वर्तमान परिस्थितिलाई गम्भीर रूपमा लिँदै संघले निर्माण क्षेत्रलाई ‘आपतकाल’ घोषणा गरी व्यवसायीलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । साथै, मूल्यवृद्धिअनुसार ठेक्का समायोजन प्रभावकारी बनाउन ‘मूल्य समायोजन मार्गनिर्देशिका–२’ तत्काल जारी गर्न तथा सबै अवधिका ठेक्कामा मूल्य समायोजन सुनिश्चित गर्न पनि आग्रह गरिएको छ ।
समस्या यथाशीघ्र समाधान नभए निर्माण परियोजनाहरू गम्भीर रूपमा प्रभावित हुने चेतावनीसमेत संघले दिएको छ ।




