स्याङ्जा, १७ चैत ।
युवाकवि मिलन समीरद्वारा रचित नवीनतम निर्बन्ध–काव्य सिर्जना `म अर्थात् आँधीखोला उकालोमै बगिरहेको छु´ माथि केन्द्रित विमर्श कार्यक्रम सम्पन्न भएको छ ।
स्याङ्जामा साहित्यिक पुनर्जागरणको सातौँ वर्षोत्सवको अवसरमा आयोजित उक्त कार्यक्रम ‘वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान–२०७६, स्याङ्जा’ ले आयोजना गरेको हो । यो कार्यक्रम अभियानको ४०औँ पाइला (शृङ्खला) का रूपमा सम्पन्न भएको थियो ।
स्याङ्जाली साहित्यको इतिहासमै फुटकर रचनामाथि केन्द्रित भएर गरिएको यस्तो प्रकारको विमर्श कार्यक्रम पहिलोपटक भएको जनाइएको छ । कार्यक्रम सोमबार अपराह्न वालिङ–६, मिर्दीस्थित नेचुरल भ्यू पोइन्ट रेष्टुरेन्टको पुस्तकालय कक्षमा सम्पन्न भएको थियो ।
कार्यक्रम अनौपचारिक रूपमा आयोजना गरिएको थियो । कार्यक्रमको सहजीकरण अभियानका संस्थापक संयोजक तथा युवा कवि मिलन समीरले गरेका थिए ।
विमर्शमा स्रष्टा मिलन समीरसहित संस्थापक अभियन्ता शम्भु अर्याल, युवराज सुवेदी, वसन्त खनाल तथा अभियन्ता पारिश्वर न्यौपानेले उक्त काव्य सिर्जनामाथि गहन पाठकीय तथा समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागी साहित्यप्रेमीहरूले निर्बन्ध–काव्य सिर्जनाको नवीन सुरुआतप्रति खुशी व्यक्त गर्दै स्रष्टालाई शुभकामना दिएका थिए ।
करादीखोला, स्याङ्जामा जन्मिएका मिलन समीर हाल वालिङमा बसोबास गर्दै सिर्जनशील कर्ममा सक्रिय छन् । साहित्यिक अभियन्ताका रूपमा परिचित समीरका गाउँमा साइरन बजेपछि (कविता सङ्ग्रह–२०६९), प्रिय दुश्मन (शृङ्खला कविता–२०७९), मिलन समीर र मिलन समीरहरू (शृङ्खला कविता–२०८०) र मिलनमन्त्र (मायालु मुक्तक–२०८०) लगायत कृतिहरू प्रकाशित छन् ।
उनले थुप्रै साहित्यिक कृतिहरूको सम्पादनसमेत गरिसकेका छन् भने स्थानीयदेखि राष्ट्रियस्तरसम्मका विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन् ।
मिलन समीरको कविता
म अर्थात् आँधीखोला उकालोमै बगिरहेको छु !
म अर्थात्
एउटा अर्को उत्तरआधुनिक
अभागी युवा श्रवणकुमारको
असामयिक, अप्रत्याशित मृत्युको
अकल्पनीय शोकको घडीमा
अन्धाअन्धी वृद्ध बाबुआमाका
अभागी, अदृश्य आँखाहरू
नाकेडाँडाको भिरालो बाटो हुँदै
अविरल सम्झनाको पिँधमा
एकोहोरो टोलाउँदै बसिरहेको
बाल्यकालीन स्मृतिलाई चिहाउँदै
साउने झरी बनेर झरेसँगै
भुमाफिया र दलालहरूको
गिद्धे नजर ममाथि परेसँगै
हेलिँदै नैतिकताको आचरणले
सधैँका लागि जीवनसागर तरेसँगै
बाँकी रहेको मानवीय इमानले नै
मसँग पटक–पटक बेइमानी गरेसँगै
सोच्दै नसोचिएका मान्छेहरू समेत
दुनियाँको नजरबाट कसिङ्गर भई झरेसँगै
दायाँ–बायाँ, तल–माथि जरैदेखि खनिखोस्री
मलाई पूरै रित्त्याएर आफ्नै भुँडी भरेसँगै
अमानवीय ध्याउन्नमा मानवता मरेसँगै
विवेकशील स्वभावले आफ्नो बसाइँ सरेसँगै
नयाँ सिसिफसको पुरानै नियति बेहोर्दै
अहिलेसम्म पनि उसैगरी जसोतसो
आँधीखोला उकालोमै बगिरहेको छु !
उहिल्यैदेखि
अविरल बग्ने क्रममा
सधैँका लागि छेकिएपछि सिमाको ओरालो
केही अपवादबाहेक
देखिएपछि प्रायः मान्छेहरूको
सुन्दर अनुहारभित्र लुकेर बसेको
घिनलाग्दो कुरूप चरित्र
भावीद्वारा मेरै फराकिलो निधारमा
लेखिएपछि दुर्भाग्यको महाभारत
आफू बग्ने धर्मको मूल मर्मलाई
मर्न नदिई अहिलेसम्म अकालमै
असंख्य अभागी आँखाको आँसु
अर्थात् म—आँधीखोला उकालोमै बगिरहेको छु !
समाहित भएर मभित्रै
सधैँसँगै बग्ने बहानामा
चुपचाप आएर मिसिएका छन्
असंख्य खहरेका भेलबाढी
सधैँका लागि छोडेर गएका छन्
मेरा पृथक पाइलैपिच्छे
भीषण पहिरोसँगै
छिचोलेर कहिल्यै नसकिने गेग्र्यानको थुप्रो !
आँधीखोलाले ओरालोको
साँच्चिकै सजिलो मूल बाटो छेकेर
तार्सेभिरको टोपी खस्ने उकालोमा
आफू हिँड्ने वैकल्पिक बाटो बनाउँदै
चालेर आजीवन पृथक पाइला
मलाई एक्लो बृहस्पतिको रूपमा
सधैँका लागि सबैको अगाडि
ध्रुवसत्यलाई झुटो प्रमाणित गराउँदै
आजीवन एक्लै हिँड्न बाध्य बनाउने
सदैव स्पष्ट देखिने गहुँगोरो अनुहारका
अदृश्य “उ” कालो—
अर्थात् मन कालो भएका कपटीहरूको
व्यवहारकै कारण
म अर्थात् आँधीखोला
उकालोमै बगिरहेको छु !
ओरालोलाई चटक्कै बिर्सिएर
त्यसपछि फेरि सधैँका लागि
उकालोको अफ्ठ्यारो बाटो हुँदै
अविरल एक्लै बहनुपर्दाको
अकल्पनीय, अप्रत्याशित पीडा
सहनै नसकिने परिस्थितिमा पनि
अझै सहनुको असह्य पीडा—
अहिलेसम्म मलाई जत्तिकै
अरू कुन खोलालाई परेको छ होला र ?
अविरल दुई आँखाको बाटो हुँदै
अरू कुन खोला झरेको छ होला र ?
मसँगै बगिरहेको अविरल आँसुको अर्थ
अरू कुन खोलाले बुझेको छ होला र ?
अहिलेसम्म आफू एक्लै बसेर एकान्तमा
हरेक पल कुन खोला रुझेको छ होला र ?
चालेर पृथक पाइला
आफू हिँड्ने वैकल्पिक बाटो
बनाउने अलिकति पनि ठाउँ
बाँकी नरहेको यस्तो अवस्थामा
आइपुगिसकेपछि—
बाध्यतामै सही,
असंख्य सूर्यको असीमित अँध्यारोमा
स्वयं आफूभित्रको सीमित उज्यालो बालेर
आँधीमुहानदेखि डहरैडहरको छेउ हुँदै
देउरालीको साँघुरो बाटोमा एक्लै हिँडेर
एउटा अर्को अन्त्यहीन आँसुको शृङ्खला
अर्थात् म आँधीखोला उकालोमै बगिरहेको छु !




