देवघाटधाम, १४ चैत ।
देवघाटधाम जेसीजको आयोजनामा “सशक्त नारी, सबल समाज” भन्ने प्रेरणादायी नारासहित महिला सशक्तिकरणसम्बन्धी विशेष कार्यक्रम भव्य तथा प्रभावकारी रूपमा सम्पन्न भएको छ । कार्यक्रम नमस्ते देवघाट गार्डेन रिसोर्टमा आयोजना गरिएको थियो ।
कार्यक्रमको संयोजन देवघाटधाम जेसीज वर्ष २०२६ की कार्यकारिणी उपाध्यक्ष जेसी स्वस्तिका धितालले गर्नुभएको थियो भने सभापतित्व अध्यक्ष जेसी अर्जुन सुवेदीले गर्नुभएको थियो । प्रमुख अतिथिका रूपमा निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी स्वप्ना पौडेल भण्डारीको गरिमामय उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख प्रशिक्षकका रूपमा पत्रकार अजिता अधिकारीले महिला सशक्तिकरण, नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि तथा सामाजिक सहभागिताका विविध पक्षमा प्रभावकारी प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रम सहयोगी URBAN Nest, नारायणगढकी सञ्चालिका तथा उद्यमी सुनिता घिमिरेले आफ्नो उद्यमशीलता यात्रा, चुनौती र सफलताका अनुभवहरू सहभागीहरूसँग साझा गर्नुभएको थियो । उक्त सत्रले कार्यक्रममा थप ऊर्जा र प्रेरणा प्रदान गरेको थियो ।
त्यस्तै, Himalayan Harvest, भरतपुरका तर्फबाट अतिथि तथा प्रशिक्षकहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन देवघाटधाम जेसीज वर्ष २०२६ की कोषाध्यक्ष जेसी रक्षा कार्कीले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रबाट आएका ६४ जना महिलाहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
यस अवसरमा देवघाट महिला सञ्जालकी अध्यक्ष राधा खनाल, विभिन्न महिला समूहका प्रतिनिधिहरू, देवघाटधाम जेसीजका पदाधिकारी तथा सदस्यहरू, पूर्व अध्यक्ष जेसी रघु मल्ल तथा निवर्तमान अध्यक्ष जेसी प्रशन्न ढकाललगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका क्रममा महिलाहरूको क्षमता अभिवृद्धि, आत्मनिर्भरता, नेतृत्व विकास तथा समाज निर्माणमा महिलाको भूमिकाबारे सार्थक छलफल तथा अन्तरक्रिया गरिएको थियो । सहभागीहरूले कार्यक्रमलाई प्रेरणादायी, ज्ञानवर्धक र व्यवहारिक भएको प्रतिक्रिया दिएका थिए ।
समापन समारोहमा सभापति जेसी अर्जुन सुवेदीले अतिथि, प्रशिक्षक, सहभागी तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमहरूले सशक्त महिला मार्फत सुदृढ समाज निर्माणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै, आगामी दिनमा यस्ता सिर्जनात्मक तथा परिवर्तनमुखी कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता जनाउनुभयो ।





