काभ्रेले जित्यो राष्ट्रिय आमन्त्रित तेक्वान्दो उपाधि, वर्षा र किरण सर्वोत्कृष्ट

हेटौंडा, १३ चैत ।
राष्ट्रिय आमन्त्रित तेक्वान्दो प्रतियोगिताको उपाधि काभ्रे जिल्लाले जितेको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौंडा–१० स्थित टिसिएन चौरमा जारी दोस्रो बृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवअन्तर्गत शुक्रबार सम्पन्न प्रतियोगितामा काभ्रे विजयी बनेको हो ।

मकवानपुर जिल्ला तेक्वान्दो संघको व्यवस्थापनमा बिहीबारदेखि सुरु भएको प्रतियोगितामा काभ्रेले ७ स्वर्ण, १ रजत र १ काँस्य गरी कुल ९ पदक जित्दै उपाधि हात पारेको हो । नुवाकोट २ स्वर्ण, २ रजत र ३ काँस्यसहित ७ पदक जित्दै उपविजेता बन्यो भने काठमाडौं २ स्वर्ण, २ रजत र २ काँस्यसहित ६ पदकका साथ तेस्रो स्थानमा रह्यो ।

प्रतियोगितामा ६ प्रदेशका १२ जिल्लाका टोलीको सहभागिता रहेको थियो । महिलातर्फ दाङकी वर्षा घर्ती मगर र पुरुषतर्फ काभ्रेका किरण तामाङ सर्वोत्कृष्ट खेलाडी घोषित भए । दुवैलाई मकवानपुरका तेक्वान्दो खेलाडी श्रीराम लामाले व्यक्तिगत रूपमा पुरस्कार प्रदान गरेका थिए ।

विजेता काभ्रेले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । उपविजेता नुवाकोटले ३५ हजार र तेस्रो भएको काठमाडौंले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पार्‍यो । विभिन्न तौल समूह र पुम्से विधामा उत्कृष्ट हुने खेलाडीलाई नगदसहित पदक प्रदान गरिएको थियो ।

अन्तर्राष्ट्रिय रेफ्री कोर्ष उत्तीर्ण विमललाई नगदसहित सम्मान

अन्तर्राष्ट्रिय रेफ्री कोर्ष उत्तीर्ण गरेका विमलबहादुर विश्वकर्मालाई नगदसहित सम्मान गरिएको छ । मकवानपुर जिल्ला तेक्वान्दो संघले शुक्रबार राष्ट्रिय आमन्त्रित तेक्वान्दो प्रतियोगिताको समापन समारोहमा उनलाई ५ हजार रुपैयाँ र प्रमाणपत्रसहित सम्मान गरेको हो ।

विश्वकर्माले गत जनवरी १७ देखि २० सम्म भारतको पुणेमा आयोजित १३३औं अन्तर्राष्ट्रिय निर्णायक (रेफ्री) कोर्ष सफलतापूर्वक उत्तीर्ण गरेका थिए । उक्त उपलब्धिको कदर गर्दै उनलाई सम्मान गरिएको संघले जनाएको छ ।
मकवानपुर जिल्ला तेक्वान्दो संघका सदस्य तथा हेटौंडा–९ स्थित जनज्योति तेक्वान्दो डोजाङका सञ्चालकसमेत रहेका विश्वकर्माले दर्जनौँ राष्ट्रिय प्रतियोगितामा कुशल निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।

कार्यक्रम संघका अध्यक्ष लालकाजी रत्नबज्राचार्यको अध्यक्षता तथा जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष राजकुमार मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा मधेश प्रदेश तेक्वान्दो संघका महासचिव राजकुमार लामाको विशेष उपस्थिति रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट