चितवन, १३ चैत ।
नेपाली सिनेमाका लोकप्रिय अभिनेता प्रदीप खड्काले रामनवमीको अवसरमा चितवनमा १८डी सिनेमा उद्घाटन गरेका छन् ।
उद्घाटनका क्रममा १८डीको अनुभव लिँदै उनले चितवनजस्तो पर्यटकीय गन्तव्यमा यस्तो आधुनिक प्रविधियुक्त सिनेमा थपिनु सकारात्मक भएको बताए । सगरमाथा, रारा ताललगायतका पर्यटकीय स्थललाई यस्तै प्रविधिमार्फत विश्वसामु प्रस्तुत गर्न सके पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने उनको धारणा थियो ।
भरतपुरस्थित सिजी ल्याण्डमार्कको दोस्रो तलामा सञ्चालनमा आएको उक्त १८डी सिनेमा फ्लाई ओभर ईन्टरटेनमेन्टद्वारा सञ्चालनमा ल्याइएको तेस्रो शाखा हो । यहाँ दर्शकले १७ फरक विषयवस्तुमा आधारित एनिमेटेड सिनेमा विशेष प्रभावसहित अनुभव गर्न सक्छन् । सिनेमा हेर्दा सिट घुम्ने, हिउँ झर्ने र पानी पर्ने लगायत दृश्यअनुसारका १८ प्रकारका अनुभूति प्रदान गरिन्छन् । एक पटकमा ८ देखि १० जनाले मात्र सिनेमा अनुभव लिन सक्ने व्यवस्था गरिएको छ ।
यसै क्रममा कम्पनीका प्रमुख राम थापाले दर्शकको मागलाई ध्यानमा राख्दै चितवनमा तेस्रो शाखा विस्तार गरिएको जानकारी दिए । काठमाडौँको प्रवेशद्वारका रूपमा चिनिने चितवनमा यस सिनेमा मार्फत देशभरका दर्शकलाई आकर्षित गर्न सकिने उनले बताए ।
कम्पनीले यसअघि काठमाडौँको सिटी सेन्टरमा पहिलो तथा पोखरा डिज्नील्याण्डमा दोस्रो शाखा सञ्चालनमा ल्याइसकेको छ । दोस्रो शाखाको उद्घाटन गत साता महानायक राजेश हमालले गरेका थिए ।





