मकवानपुर, १२ चैत ।
बागमती प्रदेशअन्तर्गत दुईवटा कार्यालयलाई नमूना कार्यालयको रूपमा सञ्चालनमा ल्याइएको छ । प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले जिल्लास्थित कार्यालयलाई सेवा सुधारसहित नमूना बनाउने कार्यक्रमअन्तर्गत फागुन २९ गतेदेखि उद्योग तथा वाणिज्य कार्यालय काभ्रेपलाञ्चोकमा नयाँ सेवासहित सञ्चालन सुरु गरेको हो ।
यसअघि उद्योग तथा वाणिज्य कार्यालय चितवनलाई गत वर्षको मंसिरदेखि पहिलो नमूना कार्यालयका रूपमा सञ्चालनमा ल्याइएको थियो । नमूना कार्यालय बनेसँगै सेवाग्राहीले अब अन्य कार्यालयजस्तो लाइनमा बस्न, झ्यालमा उभिन वा कोठा–कोठा धाउनुपर्ने झन्झट हटेको कार्यालय प्रमुख रविन घिमिरेले जानकारी दिए ।
नमूना सेवाअन्तर्गत सेवाग्राहीका लागि सोफासहितको आरामदायी प्रतीक्षालय, चिया–पानी, इन्टरनेट तथा मोबाइल चार्जिङजस्ता आधारभूत सुविधा उपलब्ध गराइएको छ । सेवाग्राहीले सुरुवाती सोधपुछ काउन्टरमा कागजात बुझाएर मोबाइल बैंकिङमार्फत शुल्क तिरेपछि आरामदायी हलमा प्रतीक्षा गर्न सक्ने व्यवस्था गरिएको छ । कागजात बुझाएको १५–२० मिनेटभित्रै काम सम्पन्न गरी सेवाग्राहीलाई हस्तान्तरण गर्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ ।
कार्यालयमा थपिएका यी सेवाहरू पुरानै जनशक्तिबाट व्यवस्थापन गरिएको छ । चितवन कार्यालयमा एसीसहितको प्रतीक्षालय, सूचना डिस्प्ले, तथा सेवाग्राहीले आफ्नै विवरण हेर्न सक्ने डिजिटल प्रणाली समेत जडान गरिएको छ । शुल्क, कागजात तथा प्रक्रिया सम्बन्धी जानकारी पनि डिस्प्ले मार्फत उपलब्ध गराइने भएकाले सेवाग्राहीलाई थप सहज भएको छ ।
गत वर्ष उद्योग मन्त्रालयले चितवन कार्यालयका लागि करिब साढे सात लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । मोबाइल बैंकिङ प्रयोग नगर्ने सेवाग्राहीले भने शुल्क तिर्नका लागि नजिकैको बैंक काउन्टरमा जानुपर्ने व्यवस्था यथावत रहेको छ । यद्यपि अन्य सबै सेवा एकद्वार प्रणालीबाटै प्रदान गरिने जनाइएको छ ।
मन्त्रालयले चालु आर्थिक वर्षभित्र सिन्धुली, रामेछाप र भक्तपुरका कार्यालयलाई पनि नमूना बनाउने लक्ष्य राखेको छ । आगामी वर्षहरूमा प्रदेशका सबै उद्योग कार्यालयलाई क्रमशः नमूना कार्यालयमा रूपान्तरण गर्ने योजना रहेको सूचना अधिकारी सुनिल बन्जाराले बताए ।





