राप्ती, १२ चैत ।
पूर्वी चितवनको राप्तीस्थित शिखर सामुदायिक वन उपभोक्ता समूह र रियल गोर्खा युवा क्लबको संयुक्त आयोजनामा जिल्ला स्तरीय खुल्ला नकआउट भलिबल प्रतियोगिता तथा प्रथम चैते दशैं मेला एवं वृहत् सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।
चैते दशैंको अवसर पारेर चैत १४ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रमबारे आयोजकले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन् । कार्यक्रम राप्ती–५, शिखरबस्तीस्थित नागदह खेल मैदानमा सञ्चालन हुनेछ ।
आयोजकका अनुसार खेलकुद, कला र संस्कृतिको समायोजन गर्दै युवालाई सकारात्मक गतिविधितर्फ उन्मुख गराउने उद्देश्य राखिएको छ । साथै, युवाशक्तिलाई खेलकुदमार्फत अनुशासित र सक्रिय बनाउनुका साथै स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ । सामुदायिक वन संरक्षण, दिगो व्यवस्थापन र वातावरणीय सचेतनाको सन्देश प्रवाह गर्ने उद्देश्य समेत रहेको जनाइएको छ ।
भलिबल प्रतियोगिता जिल्ला स्तरीय नकआउट प्रणालीमा सञ्चालन हुनेछ, जसमा जिल्लाभित्रका विभिन्न टिमहरूको सहभागिता रहनेछ । खेल संयोजक तथा क्लबका सल्लाहकार अविनाश पुन मगरका अनुसार राप्ती–५ र राप्ती–९ का भेट्रान टोलीहरूको पनि सहभागिता रहनेछ भने प्रत्येक टिमले बाहिरी जिल्लाबाट बढीमा तीन जना खेलाडी समावेश गर्न पाउनेछन् ।
प्रतियोगितामा प्रथम पुरस्कार ८० हजार रुपैयाँ, द्वितीय ४० हजार रुपैयाँ र तृतीय २० हजार रुपैयाँ निर्धारण गरिएको छ । सहभागी टिमका लागि दर्ता शुल्क ४ हजार रुपैयाँ तोकिएको छ । साथै कार्यक्रममा पन्जा लडाइँ खेल पनि समावेश गरिने संयोजक सूर्य मोक्तानले जानकारी दिनुभयो ।
यसैबीच, प्रथम चैते दशैं मेलाको अवसरमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सहभागितामा वृहत् सांस्कृतिक कार्यक्रम पनि सञ्चालन गरिनेछ । कार्यक्रममा नृत्य, गीत, झाँकीलगायत विविध प्रस्तुति रहने कार्यक्रम संयोजक तथा क्लबका अध्यक्ष समीप तामाङले बताउनुभयो । उहाँले कार्यक्रममार्फत स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने, सामुदायिक एकता सुदृढ बनाउने र स्वच्छ तथा हरित वातावरण निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमलाई व्यवस्थित, सुरक्षित र सफल बनाउन आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको शिखर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सन्देश घलानले जानकारी दिनुभयो । उहाँका अनुसार सञ्चारकर्मी, सुरक्षाकर्मी, स्थानीय तह तथा सरोकारवाला निकायसँग आवश्यक समन्वय भइरहेको छ ।
पाँच दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा करिब ७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने करिब ४० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । पत्रकार सम्मेलनमा रियल गोर्खे युथ क्लबका सचिव विशाल लो, सूर्य मोक्तान तथा शिखर सामुदायिक वन उपभोक्ता समूहकी कोषाध्यक्ष शान्ति कुँवर लगायतको उपस्थिति रहेको थियो ।





