भरतपुरमा स्थानीय प्रज्ञाप्रतिष्ठानहरूको राष्ट्रिय भेला

भरतपुर, १० चैत ।

सोमबारदेखि भरतपुरमा सुरु भएको पालिकास्तरीय प्रज्ञाप्रतिष्ठानहरूको राष्ट्रिय भेला ‘भरतपुर घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको छ । भरतपुरस्थित चेतना भिलेजमा सुरु भएको भेला मङ्गलबार १३ बुँदे घोषणापत्र सार्वजनिक गरी समापन गरिएको हो ।

देशभरका १७ प्रज्ञाप्रतिष्ठानबाट करिब ६५ जना प्राज्ञहरूको सहभागिता रहेको उक्त भेलामा प्रज्ञा सभाको गठनपछिको अवस्था, सञ्चालन, भावी मार्गचित्र तथा विभिन्न गतिविधिहरूका विषयमा विस्तृत छलफल गरिएको थियो ।

भाषा, साहित्य, कला, सङ्गीत, नाटक, ज्ञान–विज्ञान, लोकवार्ता तथा संस्कृतिको संरक्षण, अनुसन्धान र प्रवर्द्धनलाई प्रभावकारी बनाउने विषयमा समूहगत छलफलपछि घोषणापत्र तयार गरिएको आयोजक भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानले जनाएको छ ।

राष्ट्रिय भेलामा छलफल भएका महत्त्वपूर्ण १३ बुँदा
१) पालिकास्तरीय प्रज्ञाप्रतिष्ठानहरूको राष्ट्रिय भेला १३ बुँदे ‘भरतपुर घोषणापत्र’ जारी गर्दै सम्पन्न भयो।

२) १७ वटा प्रज्ञाप्रतिष्ठानबाट करिब ६५ जना प्राज्ञहरूको सहभागिता रहेको थियो ।

३) सङ्घीय, प्रादेशिक र स्थानीय तहका प्राज्ञिक संस्थाबीच समन्वय सुदृढ गर्ने निर्णय ।

४) प्रत्येक पालिकामा प्रज्ञाप्रतिष्ठान स्थापना गरी विभिन्न विषयगत विभाग गठन गर्ने योजना ।

५) ‘वाङ्मय’ वा ‘परिषद्’ जस्ता नाम हटाई सबैमा ‘प्रज्ञाप्रतिष्ठान’ शब्द अनिवार्य प्रयोग गर्ने सुझाव ।

६) अध्यक्षात्मक प्रणाली अपनाई संस्थागत संरचना सुदृढ गर्ने र गतिविधिलाई प्रविधिमैत्री बनाउने ।

७) देशभरका प्राज्ञिक संस्था र सांस्कृतिक निकायहरूको विवरण संकलन गरी डिजिटल प्रणाली विकास गर्ने ।

८) ज्ञानको पुस्तान्तरण सुनिश्चित गर्दै युवापुस्तालाई साहित्य, कला र सिर्जनामा आकर्षित गर्ने ।

९) प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सांस्कृतिक ग्राम निर्माण गर्ने सुझाव ।

१०) पुरस्कारमा कर हटाउने, स्रष्टा–परिचयपत्र लागू गर्ने र सामाजिक सुरक्षा व्यवस्था गर्ने प्रस्ताव ।

११) साहित्य, कला र संस्कृतिको अनुसन्धानका लागि साझा मापदण्ड (methodology) तय गर्ने प्रस्ताव ।

१२) परम्परागत तथा मौलिक ज्ञानलाई विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा समेट्ने व्यवस्था गर्ने ।

१३) समाजमा देखिएका विकृति र विचलन नियन्त्रण गर्न तथा नैतिक आचरण प्रवर्द्धन गर्ने प्रणाली विकास गर्ने ।

प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाका अनुसार सङ्घीय, प्रादेशिक र स्थानीय तहका प्राज्ञिक संस्थाबीच समन्वय बढाउने, नेपाली मौलिकताको जगेर्ना गर्ने तथा प्राज्ञिक लेखन र साहित्यमा एकरूपता ल्याउने उद्देश्यसहित घोषणापत्र जारी गरिएको हो ।

घोषणापत्रमा सबै स्थानीय तहमा प्रज्ञाप्रतिष्ठान स्थापना गर्ने र त्यसभित्र भाषा, साहित्य, ललितकला, सङ्गीत, नाट्यकला, लोकवार्ता तथा ज्ञान–विज्ञानसम्बन्धी विभाग गठन गर्ने प्रस्ताव गरिएको छ । साथै देशभरका यस्ता संस्थाहरूको नाममा एकरूपता ल्याउन ‘प्रज्ञाप्रतिष्ठान’ शब्द अनिवार्य प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ ।

हाल विभिन्न स्थानमा ‘वाङ्मय’ वा ‘परिषद्’ जस्ता नाम प्रयोग गरिँदै आएकामा ती हटाई एकरूप नामाकरण गर्नुपर्ने सुझाव दिइएको छ । घोषणापत्रमा अध्यक्षात्मक प्रणालीअन्तर्गत संस्थागत संरचना विकास गर्ने र गतिविधिलाई प्रविधिमैत्री बनाउने विषय पनि समावेश गरिएको छ ।

सङ्घीय तहका तीनै प्रज्ञाप्रतिष्ठानले देशभरका प्राज्ञिक संस्था र कला–संस्कृतिसँग सम्बन्धित निकायहरूको विवरण सङ्कलन गरी ‘प्रज्ञासूचना प्रणाली’ निर्माण गर्ने, नयाँ पुस्तालाई सिर्जनामा प्रोत्साहन गर्ने तथा ज्ञानको पुस्तान्तरण सुनिश्चित गर्ने विषयमा पनि जोड दिइएको छ ।

यस्तै, प्रत्येक स्थानीय तहले कम्तीमा एउटा सांस्कृतिक ग्राम निर्माण गर्नुपर्ने, देशको मौलिकता, विविधता र सम्पदाको संरक्षण तथा प्रवर्द्धनका लागि तीनै तहका योजनामा समावेश गर्नुपर्ने सुझाव घोषणापत्रमा समेटिएको छ ।

साहित्य, कला र संस्कृतिको अनुसन्धानमा एकरूपता ल्याउन अनुसन्धान विधि तय गर्ने, मौलिक ज्ञान परम्परालाई विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा समावेश गर्ने तथा सामाजिक सद्भाव र नैतिक आचरणमा देखिएका विकृतिलाई नियमन गर्ने प्रणाली विकास गर्नुपर्नेमा पनि जोड दिइएको छ ।

त्यसैगरी, कलालाई शिक्षासँग र शिक्षालाई उत्पादनसँग जोड्ने, सर्जकलाई प्रोत्साहन गर्न दिइने पुरस्कारमा कर हटाउने तथा स्रष्टा–परिचयपत्र लागू गरी सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने विषय पनि घोषणापत्रमा उल्लेख छ ।

घोषणापत्र जारी गर्नुअघि आयोजित काव्यिक कार्यक्रममा सहभागी प्राज्ञहरूले गीत, गजल र कविता वाचन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि गजलकार एवं वर्दघाट प्रज्ञाप्रतिष्ठानका कूलपति डा. घनश्याम न्यौपाने (परिश्रमी)ले यस्तो कार्यक्रमले दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

सोमबारको उद्घाटन कार्यक्रममा भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले महानगरभित्र सांस्कृतिक ग्राम निर्माण गर्ने हो भने त्यसका लागि आफूले जग्गा व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पालिकास्तरीय प्रज्ञाप्रतिष्ठानहरुको राष्ट्रिय भेला तथा काव्यिक अनुष्ठान कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अधिकारीले जग्गा व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
‘सांस्कृतिक ग्रामका लागि पाँचदेखि दश बिघा जग्गा व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु’ आयोजक संस्थाका संरक्षकसमेत रहेका अधिकारीले भने, ‘महानगरको पूर्ण विकासका लागि सांस्कृतिक विकास पनि हुनु पर्छ ।’ भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानको वर्तमान कार्यसमितिले जाँदाजाँदै एउटा सम्झनायोग्य कार्यक्रम आयोजना गरेको उनको भनाइ थियो । कार्यसमितिको कार्यकाल यही शुक्रबार सकिँदै छ ।

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका उपकुलपति लालकाजी लामाले ललितकला, संगीत तथा नाट्य र भाषासाहित्यको विकासका लागि सांस्कृतिक ग्राम बनाउन सुझाव दिएका थिए । उनले सांस्कृतिक क्षेत्र उद्योग पनि हो भनेर पालिकाहरुलाई बुझाउन नसकिएको विचार राखे ।
नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव धनप्रसाद सुवेदीले पालिकास्तरका प्रज्ञाप्रतिष्ठानमा एकरूपता आवश्यक रहेको धारणा सुनाए । उनले भने, ‘देशभरका ६० वटा जति पालिकामा प्रज्ञाप्रतिष्ठान वा वाङ्मय प्रतिष्ठान गठन भएका छन् । कतै कुलपति र उपकुलपति छन् भने कतै अध्यक्ष र उपाध्यक्ष । कार्यशैली, मर्यादाक्रम, सेवासुविधा र समन्वयमा पनि एकरूपता आवश्यक छ ।’

नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानकी सदस्यसचिव पुष्पा महराले साहित्य र संस्कृतिको क्षेत्रलाई राज्यले फराकिलो हिसाबले हेर्न नसकेको गुनासो गरिन् । कार्यक्रम संयोजक केदारनाथ खनालले सहभागीहरुलाई स्वागत गर्दै पालिकास्तरीय प्रज्ञाप्रतिष्ठान आवश्यकता हो कि बोझ भन्ने विषयमा पनि छलफल होस् भनेर कार्यक्रमको आयोजना गरिएको बताए ।

भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति ईन्द्रप्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहको सञ्चालन सदस्यसचिव बालकृष्ण थपलियाले गरेका थिए । उपकुलपति रेग्मीले राष्ट्रिय भेला तथा काव्यिक अनुष्ठान आफ्‌नो कार्यकालको अन्तिम कार्यक्रम भएको बताए । उनले आगामी कार्यसमितिलाई आफ्‌नो पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानद्वारा आयोजित उक्त भेलामा नेपाल प्रज्ञाप्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानसहित देशभरका १७ संस्थाबाट प्रतिनिधित्व रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट