काठमाडौं, ४ चैत ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सत्ता प्राप्तिपछि देखिने अहंकार र भ्रमबाट सचेत रहन आफ्ना सांसदहरूलाई कडा चेतावनी दिएका छन् । उनले शक्ति हात परेपछि आँखामा लाग्ने ‘पट्टी’ हटाउन नसके जनताले आफूहरूलाई ३६ दिन पनि नपर्खने स्पष्ट पारे ।
बुधबार ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा आयोजित नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै लामिछानेले जनताको चेतना अहिले निकै उच्च भइसकेको बताए । “शक्ति पाएपछि आँखामा आउने पट्टी खोल्न सक्नुपर्छ, नत्र जनताले अब ३६ दिन पनि कुर्दैनन्,” उनले चेतावनी दिए ।
उनले विगतमा राजनीतिक दलहरूले लामो समयसम्म जनताको धैर्यको फाइदा उठाएको उल्लेख गर्दै अहिलेको अवस्थामा त्यस्तो सम्भावना नरहेको बताए । जनताले अब छिटो मूल्यांकन गर्ने भएकाले गल्ती दोहोरिए तुरुन्त अस्वीकार हुने उनको भनाइ थियो ।
लामिछानेका अनुसार अघिल्लो निर्वाचनमा रास्वपालाई दुई तिहाइ बहुमत दिन सक्ने अवस्था हुँदाहुँदै पनि जनताले जानाजानी सीमित सिट मात्र दिएका थिए । “हामीलाई नमात्तिउन् भनेर २०–२१ सिट मात्रै दिएका हुन् । पुराना दललाई सुधार्ने र नयाँलाई परख गर्ने सोचले जनताले विवेकपूर्ण निर्णय गरेका थिए,” उनले भने ।
उनले दुई तिहाइ बहुमत प्राप्त सरकारले जनताको उक्त विश्वासको सम्मान गर्न नसकेको आरोप पनि लगाए । आफ्ना सांसदहरूलाई जनताको भरोसा जोगाउँदै इमानदारी, जिम्मेवारी र अनुशासनका साथ काम गर्न उनले निर्देशन दिए ।
लामिछानेको यो अभिव्यक्तिलाई नयाँ राजनीतिक शक्ति र नेतृत्वप्रति जनताको बढ्दो अपेक्षाको संकेतका रूपमा हेरिएको छ ।





