काठमाडौं, ४ चैत ।
पुष्प व्यवसायको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को आयोजनामा ‘२७ औं फ्लोरा एक्स्पो–२०८२’ चैत ५ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने भएको छ ।
‘स्वच्छ वातावरण, रोजगारी र आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नारासहित सञ्चालन हुने एक्स्पोमा करिब ८३ वटा स्टल रहनेछन् भने ५ सयभन्दा बढी प्रजातिका फूल, बिरुवा तथा कृषि सामग्रीहरूको प्रदर्शन, बिक्री र अवलोकन गर्न पाइनेछ ।
एक्स्पोमा पुष्प व्यवसायसम्बन्धी परामर्श, नयाँ प्रविधिको जानकारी, प्रतिस्पर्धात्मक प्रदर्शनी तथा प्लान्ट क्लिनिक सेवा समेत उपलब्ध गराइने आयोजकले जनाएको छ । यस वर्ष करिब ६० हजार अवलोकनकर्ता सहभागी हुने र १ करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ ।





