समानुपातिक प्रणालीतर्फ निर्वाचित उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक

चितवन । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ । निर्वाचन आयाेगले समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० जना सांसद निर्वाचित भएका घाेषणा गरेकाे छ। आयाेगले विभिन्न ६ वटा पार्टीबाट निर्वाचित हुने सा‌ंसदहरुकाे सूची प्रकाशित गर्दै ११० जनालाई निर्वाचित घोषणा गरेकाे हाे ।

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ काे लागि पेश गरेकाे बन्दसूचीबाट आ-आफ्नो दललाई प्राप्त गरेको सिट कलस्टर अनुसार निर्वाचन आयोगमा नाम पेस गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ५७ जना, नेपाली कांग्रेसबाट २० जना, नेकपा (एमाले)बाट १६ जना, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट ९ जना, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ४–४ जना निर्वाचित भएका छन् ।

यसैगरी ६ दलबाट ११० जना सांसद निर्वाचित हुँदा ८२ जना महिला रहेका छन् । जसमा सबैभन्दा बढी रास्वपाबाट ४८ जना, दोस्रोमा नेपाली कांग्रेसबाट १५ जना, तेस्रोमा नेकपा (एमाले) बाट १० जना, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट ४ जना, श्रम संस्कृति पार्टीबाट ३ जना र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट २ जना छन् ।

बागमती प्रदेशका ३१ जना सदस्य प्रतिनिधि सभामा निर्वाचित 

आयोगका अनुसार समानुपातिक तर्फबाट निर्वाचित सांसदमध्ये बागमती प्रदेशका विभिन्न जिल्लाबाट पाँच राष्ट्रिय दलका ३१ उम्मेदवार समेटिएका छन् ।

प्रदेशका ३३ निर्वाचन क्षेत्रबाट सिफारिसमा परेका समानुपातिकतर्फ ३१ जना सदस्य प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।

राष्ट्रिय दलको मान्यता पाएका ६ वटा दलमध्ये पाँच वटाले प्रदेशबाट प्रतिनिधित्व पाएका छन् । तर, समानुपातिकतर्फ चार सिट जितेको श्रम संस्कृति पार्टीबाट भने बागमती प्रदेशका कसैले पनि अवसर पाउन सकेनन् । समानुपातिक तर्फबाट निर्वाचित हुनेहरूमा सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरू छन् । बागमतीका ३३ निर्वाचन क्षेत्रमध्ये ३१ वटामा रास्वपाले प्रत्यक्षतर्फ निर्वाचन जितेको थियो । बागमतीका ११ जिल्लामा (रसुवा र सिन्धुपाल्चोकबाहेक) त क्लिनस्वीप नै गरेको छ ।

समानुपातिकतर्फ बागमतीमा रास्वपाका सबैभन्दा धेरै १९ जना सांसद चुनिएका छन् । निर्वाचित हुनेहरूमा काभ्रेका राम लामा र रचना खतिवडा खत्री, ललितपुरका खुश्बु सरकार श्रेष्ठ, सुम्निमा उदास र प्रभा कार्की रहेका छन् ।

त्यस्तै, काठमाडौँबाट बसुमाया तामाङ, अनुष्का श्रेष्ठ, ओजस्वी शेरचन, सिर्जना श्रेष्ठ, लिमा अधिकारी (आचार्य), विदुषि राणा, समीक्षा बास्कोटा र सीता वादी निर्वाचित भएका छन् । नुवाकोटबाट शोभा खनाल, चितवनबाट प्रभा ढकाल र अफसाना बानु, दोलखाबाट स्मृति सेन्चुरी र ललितपुरबाट तारा विश्वकर्मा पनि रास्वपाबाट सांसद बनेका छन् ।

त्यस्तै नेपाली कांग्रेसबाट यस प्रदेशमा ५ जना निर्वाचित भएका छन् । जसमा मकवानपुरबाट पवित्रा विक, भक्तपुरबाट मदनकृष्ण श्रेष्ठ र गंगालक्ष्मी अवाल, नुवाकोटबाट अर्जुननरसिंह केसी, धादिङबाट सीता थपलिया छन् ।

त्यसैगरी नेकपा एमालेबाट ४ जना निर्वाचित भएका छन् । जसमा धादिङबाट गंगादेवी श्रेष्ठ र पुष्पराज कँडेल, चितवनबाट रामबहादुर थापा मगर र काठमाडौँबाट कुलभक्त शाक्य रहेका छन् । नेपाली कम्युनिस्ट पार्टीबाट ललितपुरका प्रमेश कुमार हमाल र काठमाडौँका परशुराम तामाङ निर्वाचित भएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट धादिङकी सरस्वती लामा र काठमाडौँकी खुश्बु ओली निर्वाचित भएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट