काठमाडौं, १ चैत
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा गरेको भारी वृद्धि उपभोक्ताका लागि महँगो साबित भए पनि अन्तर्राष्ट्रिय बजार र भारतबाट आएको नयाँ मूल्यसूचीको तुलनामा यो निकै कम हो ।
निगमले आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ बढाउने निर्णय गरेको छ ।
तर, निगमलाई इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त नयाँ खरिद मूल्यसूचीमा भने पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ र डिजेल प्रतिलिटर ५४ रुपैयाँले बढेर आएको थियो ।
निगमले उपभोक्तालाई प्रत्यक्ष मार नपरोस् भनेर मूल्य स्थिरीकरण कोषको रकम प्रयोग गरी कम मात्र मूल्य बढाएको बताएको छ ।
निगमका अनुसार खाना पकाउने एलपी ग्यासमा समेत प्रतिसिलिन्डर २१६ रुपैयाँले मूल्य बढेर आएको छ, तर उपभोक्ताको सहजतालाई ध्यानमा राख्दै यसको खुद्रा बिक्री मूल्य यथावत् राखिएको छ ।
निगमका अनुसार पछिल्लो समय मध्यपूर्व र युरोप (रुस-युक्रेन) मा देखिएको युद्धको प्रभावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अत्यधिक बढेको हो ।
विगतमा मूल्य अत्यधिक बढ्दा पनि निगमले उपभोक्तालाई सस्तोमै तेल उपलब्ध गराउँदै आएको थियो। तर, घाटा खाएर तेल बेच्दा आईओसीलाई बुझाउनुपर्ने बक्यौता २४ अर्ब पुग्यो ।
सरकारबाट ७ अर्ब ऋण लिँदा र राष्ट्रिय वाणिज्य बैंकमा निगमको जग्गा धितो राखेर ३ अर्ब ऋण लिँदा समेत बक्यौता तिर्न नसकिएकाले आपूर्ति प्रणाली नै प्रभावित हुने अवस्था सिर्जना भएको निगमको भनाइ छ ।
आइओसीले पठाएको मूल्यभन्दा कम मूल्यमा तेल बेच्दा निगमलाई अझै पनि ठूलो आर्थिक भार परिरहेको छ । निगमका अनुसार यो मूल्यवृद्धि पश्चात् पनि निगमलाई १५ दिनमै करिब ३ अर्ब ९३ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ ।





