चितवन, १८ फागुन ।
चितवन क्षेत्र नम्बर २ की उम्मेदवार मीना खरेललाई सघाउन नागरिक उन्मुक्ति पार्टीका क्षेत्र नम्बर २ का उम्मेदवार सुवास महतो नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
भरतपुर–११ स्थित गोर्खाली टोलमा आयोजित प्रचारप्रसार अभियान समापन तथा होली विशेष सांस्कृतिक कार्यक्रममा महतो, पार्टीकी जिल्ला उपाध्यक्ष सुशीला महतोसहित ५० भन्दा बढी कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरूलाई कार्यक्रममा कांग्रेस नेताहरूले स्वागत गरेका थिए ।
यसअघि नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका महतोले कांग्रेस उम्मेदवार खरेलको विकास र समृद्धिको एजेन्डा प्रभावकारी रहेको उल्लेख गर्दै पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेको बताए ।
कार्यक्रममा बोल्दै उम्मेदवार मीना खरेलले जनताको विश्वास र समर्थनले आफूलाई थप उत्साहित बनाएको बताइन् । उनले चितवनको समग्र विकास, सुशासन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
नवप्रवेशीहरूले कांग्रेसको नेतृत्वमा मात्रै स्थायित्व र विकास सम्भव हुने विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा खरेललाई विजयी बनाउन एकजुट भएर लाग्ने बताएका छन् । स्थानीय तहमा प्रभावशाली मानिएका महतोसहित ठूलो संख्यामा कार्यकर्ता प्रवेश गर्नुले चुनावी प्रतिस्पर्धामा खरेलको स्थिति थप मजबुत बनेको विश्लेषण गरिएको छ ।




