नवलपरासी, १७ फागुन ।
नवलपरासी क्षेत्र नम्बर १ का नेपाली कांग्रेस उम्मेदवार विनोद चौधरी यतिबेला घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष संवादमा व्यस्त छन् । गाउँ–टोल, बजार र बस्तीमा पुग्दै उनले मतदातासँग आत्मीय भेटघाट गरिरहेका छन् ।
घरदैलोका क्रममा चौधरीले नवलपरासीसँग आफ्नो सम्बन्ध केवल राजनीतिक नभई भावनात्मक र आत्मीय रहेको बताएका छन् । “यहाँको माटोको सुगन्ध, आमाबुबाको आशीर्वाद, युवाको जोश र दिदीबहिनीहरूको विश्वासले सधैं प्रेरणा दिएको छ,” उनले भने, “सुखदुःखमा सँगै उभिने र विकास–समृद्धिको यात्रामा हातेमालो गर्ने सम्बन्ध नै मेरो जीवनको अमूल्य पूँजी हो ।”
उनले जेन–जी पुस्ताले अपेक्षा गरेको परिवर्तनका लागि नेपाली कांग्रेस रूपान्तरित भएको उल्लेख गरे । पार्टी सभापति गगन थापा को नेतृत्वमा युवाहरूका सपना साकार पार्ने प्रतिबद्धता लिइएको उनले बताए । यसै कारण युवापुस्तामा कांग्रेसप्रतिको विश्वास थप बलियो बन्दै गएको दाबी उनले गरे ।
चौधरीले आफ्नो अभियान केवल चुनाव जित्ने उद्देश्यमा सीमित नभएको स्पष्ट पार्दै यसलाई विकास, रोजगारी, उद्योग, शिक्षा र अवसर सिर्जनाको दीर्घकालीन यात्रासँग जोडिएको बताए । नवलपरासीको समुन्नत विकासमार्फत सिंगो देशलाई समृद्धिको बाटोमा अघि बढाउने लक्ष्यसहित आफू जनतामाझ पुगेको उनको भनाइ छ ।
“सकारात्मक सोच, स्पष्ट दृष्टि र परिणाम दिने नेतृत्वलाई साथ दिनुहोस्,” उनले मतदातासँग आग्रह गर्दै भने, “क्षेत्र बलियो बन्यो भने देश बलियो बन्छ ।”




