खैरहनी, १७ फागुन ।
नेपाली कांग्रेस क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले ‘बदल्यौँ कांग्रेस : बदल्छौँ देश’ भन्ने संकल्पसहित चुनावी अभियानलाई तीव्र बनाएका छन् । घरदैलो तथा मतदाता भेटघाटमा सक्रिय उनले आफूलाई मतदाताको साथ र सहयोग उल्लेख्य रूपमा प्राप्त भइरहेको दाबी गरेका छन् ।
उम्मेदवार बुर्लाकोटीले देशमा भ्रष्टाचार अन्त्य गरी सुशासन स्थापना गर्नुपर्ने जनचाहना बलियो बन्दै गएको उल्लेख गर्दै जेनजी युवाहरूको भावना सम्बोधन गर्ने नयाँ युगको कांग्रेस आवश्यक रहेको बताएका छन् । उनले रुपान्तरणको बाटोमा अघि बढेको कांग्रेसलाई जिताउन मतदातासँग आग्रह गरेका छन् ।
पछिल्लो समय खैरहनी क्षेत्रमा उनको पक्षमा जनमत बढ्दो क्रममा रहेको बताइएको छ । विशेषगरी युवा तथा पहिलोपटक मतदान गर्न लागेका जेनजीहरूको समूहगत पार्टी प्रवेशले चुनावी माहोल थप उत्साहजनक बनेको छ । समाजसेवामा लामो समय योगदान दिएका बुर्लाकोटीलाई जिताउन युवाहरू कांग्रेसमा प्रवेश गरेको जनाइएको छ ।
बुर्लाकोटीका अनुसार रत्ननगरमा आयोजित युवा भेलादेखि हालसम्म दुई हजारभन्दा बढी व्यक्ति पार्टीमा प्रवेश गरिसकेका छन् । “जहाँ पुग्छु, त्यहीँ समूहगत रूपमा जिताउनुपर्छ भन्दै पार्टी प्रवेश भइरहेको छ,” उनले भने, “यो लहरले जितप्रति मेरो विश्वास अझ बलियो बनाएको छ ।”
कांग्रेसका नेता–कार्यकर्ताले गाउँबस्तीमा पुगेर अभियान तीव्र बनाएकोमा उनले आभार व्यक्त गर्दै सबैलाई आफ्नो परिवारको मत सुरक्षित गर्दै उम्मेदवारलाई विजयी बनाउन आग्रह गरेका छन् । साथै, कांग्रेस सभापति गगन थापा प्रधानमन्त्री बन्ने सम्भावना निकट रहेको पनि उनले उल्लेख गरे ।
आफू कसैप्रति गालीगलौज वा नकारात्मक प्रचारमा नलागेको स्पष्ट पार्दै उनले भीडभन्दा पनि गाउँबस्तीका मतदाताको विश्वास नै आफ्नो जितको आधार हुने बताएका छन् । पाँच दशकदेखि जनताको दुःख–सुखमा साथ दिँदै आएको उल्लेख गर्दै यसपटक आफ्नो जीत सुनिश्चित रहेको दाबी उनले गरे ।
निर्वाचन संयोजक किरणभूषण ओलीले पनि क्षेत्र नम्बर १ मा कांग्रेसका जनप्रतिनिधिले गरेका विकास कार्य र उम्मेदवारको स्वच्छ छविका आधारमा बुर्लाकोटी विजयी हुने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार सामाजिक तथा राजनीतिक क्षेत्रमा पुर्याएको योगदानका कारण मतदाताले बुर्लाकोटीलाई न्याय गर्नेछन् ।




