गैंडाकोट, १३ फागुन ।
नवलपुरको गैँडाकोट नगरपालिका–२ शान्तिनगरमा एक युवती मृतावस्थामा फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार मुसिकोट गाउँपालिका–९ घर भई गैँडाकोट–२ मा डेरा गरी बस्दै आएकी करिब २४ वर्षीया बबिता सापकोटा सोमबार साँझ आफ्नै कोठाभित्र मृत अवस्थामा फेला परेकी हुन् ।
युवतीसँग सम्पर्क हुन नसकेको भन्दै उनका दाजुले घरबेटीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय गैँडाकोटमा खबर गरिएको थियो । स्थानीय जनप्रतिनिधि, घरबेटी र आफन्तको रोहवरमा बाहिरबाट लगाइएको ताल्चा खोलेर हेर्दा सापकोटा खाटमाथि सिरकले छोपिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरी उपरीक्षक खड्काका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको टाउको, घाँटी र दाहिने हातको नाडीमा धारिलो हतियारले काटेको चोट तथा अनुहारमा निलडाम देखिएको छ ।
घटनाको थप अनुसन्धानका लागि प्रदेशस्तरीय अनुसन्धान टोली तथा कुकुरसहितको विशेष टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।
मृतक सापकोटाको करिब तीन वर्षअघि विवाह भएको र एक वर्षअघि सम्बन्धविच्छेद भएको बुझिएको छ । उनी हाल एक्लै बस्दै आएकी थिइन् ।
गत १० फागुनमा गुल्मीबाट गैँडाकोटस्थित डेरामा फर्किएपछि माइती पक्षसँग सम्पर्कमा नआएको पनि प्रहरीले जनाएको छ।



