चितवन, १३ फागुन ।
पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनसँगै बग्ने राप्ती खोलामा २० वटा घडियाल गोही छोडिएको छ । संरक्षण तथा प्रजनन कार्यक्रमअन्तर्गत ती घडियाललाई प्राकृतिक बासस्थानमा पुनःस्थापना गरिएको हो ।
कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. गणेश पन्त, सामुदायिक वनका अध्यक्ष राजुप्रसाद सिलवाल, पर्यटन व्यवसायी वासुदेव ढुङ्गानालगायतको उपस्थिति रहेको थियो ।
वनका कार्यसमिति सदस्य नमराज न्यौपानेका अनुसार नदी तथा जैविक विविधता संरक्षणलाई टेवा पुर्याउने उद्देश्यले घडियाल गोही राप्तीमा छोडिएको हो । यस कदमले नदी पारिस्थितिकी प्रणाली सुदृढ हुनुका साथै संरक्षण पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।



