चितवन, १३ फागुन ।
देश यतिबेला निर्वाचनमय बनेको छ । राजनीतिक दलहरू आफ्ना उम्मेदवारलाई विजयी गराउन घरदैलो, कोणसभा र भेटघाट कार्यक्रमलाई तीव्रता दिइरहेका छन् । प्रतिबद्धता, प्रतिज्ञापत्र र विकासका योजनासहित उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगिरहेका छन्ब। यही चुनावी माहोलले चितवन जिल्ला पनि पूर्ण रूपमा तातेको छ ।
सर्वाधिक चर्चामा रहेको चितवन क्षेत्र नम्बर ३ मा उम्मेदवारहरू मतदाता फकाउन व्यस्त छन् । सबैले आ–आफ्नो जितको दाबी गरिरहँदा नेपाली कांग्रेसका अनुभवी उम्मेदवार टेकप्रसाद गुरुङले घरदैलो अभियानलाई तीव्र बनाइरहेका छन् ।
आफू आदिवासी जनजाति समुदायको प्रतिनिधित्व गर्ने उम्मेदवार भएको र चितवनको राजनीति तथा विकासमा पाँच दशकदेखि योगदान पुर्याउँदै आएको उल्लेख गर्दै गुरुङले आफ्नो जित सुनिश्चित रहेको दाबी गरे ।
“मेरो लोकतान्त्रिक कांग्रेस पार्टी पुरानो र जिम्मेवार पार्टी हो । म जितको निकै नजिक पुगिसकेको छु, अब नतिजा आउन मात्रै बाँकी छ,” उनले भने ।
विगत एक दशकदेखि कांग्रेस समर्थकहरूले स्वतन्त्र रूपमा मतदान गर्न नपाएको दाबी गर्दै उनले यसपटक पार्टीको मत सुरक्षित रहे आफ्नो जित कसैले रोक्न नसक्ने बताए। सामाजिक सञ्जालको प्रचार र भीडका आधारमा चुनाव नजितिने उल्लेख गर्दै उनले घरदैलोका क्रममा प्राप्त जनसमर्थनलाई जितको बलियो आधार मानेका छन् ।
“अहिले देश जलाउने र देश बनाउनेबीचको प्रतिस्पर्धा हो । मतदाताले विवेकपूर्ण निर्णय गर्दै आफ्नै भविष्य निर्माण गर्नुपर्छ,” गुरुङले जोड दिए ।
घरदैलो अभियानका क्रममा आफू माडीदेखि मेघौलीसम्म, ओतदेखि खेतसम्म पुगेको उल्लेख गर्दै उनले जनताका समस्या नजिकबाट बुझेको बताए ।
“मैले यहाँका हरेक नागरिकको समस्या नियालेको छु। उहाँहरूले पनि मलाई राम्ररी चिन्नुभएको छ । जितेपछि कृषि, पर्यटन, पूर्वाधार विकास र रोजगारी सिर्जना मेरो पहिलो प्राथमिकता हुनेछ,” उनले प्रतिबद्धता व्यक्त गरे ।
यस क्षेत्रमा मुख्य प्रतिस्पर्धीका रूपमा सोबिता गौतम र रेनु दाहाल चुनावी मैदानमा छन्, जसले चितवन–३ को प्रतिस्पर्धालाई झन् रोचक बनाएको छ ।



