तनहुँ, १२ फागुन ।
तनहुँ क्षेत्र नम्बर–१ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले बुद्धसिंह मार्गको ‘लाइफलाइन’ मानिने घुमाउने पुलसहित उक्त सडकखण्डमा पर्ने अन्य पाँच पुलको निर्माण कार्य सम्पन्न गर्नु आफ्नो मुख्य चुनावी एजेन्डा रहेको बताएका छन् । १२ वर्षदेखि अलपत्र अवस्थामा रहेको घुमाउने पुल र विभिन्न खोलामा पुल नहुँदा स्थानीयले विकासको अनुभूति गर्न नपाएको भन्दै उनले निर्माण कार्यलाई तीव्रता दिने प्रतिबद्धता जनाएका हुन् ।
सञ्चारकर्मीसँगको कुराकानीमा भट्टराईले भने – `घुमाउने पुल मात्र होइन, बुद्धसिंह मार्गमा पर्ने सुँढेखोला, ढाँडखोला, खानी खोला, बगर खोला र भूतखोला—यी सबै पाँच पुलको निर्माणलाई गति दिनु मेरो पहिलो प्राथमिकता हुनेछ । निर्माणमा भएको ढिलासुस्ती अन्त्य गरी जनतालाई सहज आवागमनको सुनिश्चितता दिलाउनेछु ।´
निर्वाचित भएपछि अलपत्र योजनाहरू अघि बढाउन सम्बन्धित मन्त्रालय र सडक विभागसँग तत्काल पहल गर्ने तथा आवश्यक बजेट सुनिश्चित गराउने उनको भनाइ छ । `यो मार्ग सञ्चालनमा आए नारायणगढसँगको दूरी २३ किलोमिटरले छोटिन्छ, त्यसैले यसको रणनीतिक महत्त्व ठूलो छ,´ उनले भने, `विगतमा पर्याप्त चासो नदिँदा पुलहरू अलपत्र परेका हुन् । आफ्नो चुनावी प्रतिबद्धतापत्रमै यी योजनालाई समेटेको छु, मेरो जित नै पुल निर्माणको सुनिश्चितता हो ।´
वि.सं. २०७० सालदेखि सुरु भएको घुमाउने पुल पटक–पटकको डिजाइन परिवर्तन र निर्माण कम्पनीको ढिलासुस्तीका कारण हालसम्म करिब ३६ प्रतिशत मात्र सम्पन्न भएको छ । पुल अभावमा यातायातका साधन तनहुँकै सिमानासम्म पुगेर फर्किनुपर्ने बाध्यता रहेको छ ।
भट्टराईले बुद्धसिंह मार्गलाई वैकल्पिक राजमार्गका रूपमा पूर्णता दिँदै यस क्षेत्रको आर्थिक समृद्धिका लागि पुल निर्माणको काम कुनै पनि बहानामा रोकिन नदिने अठोट व्यक्त गरेका छन् ।



