सुरुमा केही अनौपचारिक कुरा
हिजोआज पढ्नु मेरो नसाजस्तै भएको छ । हप्तामा एउटा किताब पनि पढिएन भने के नपुगेको के नपुगेकोजस्तो लाग्छ । के पढ्ने ? यसका बारेमा भने अझै निश्चित धारणा बनिसकेको छैन मेरो । कतिपय कृति त आग्रहका भरमा पनि पढिदिनुपर्ने हुन्छ । हो, यस्तै भयो, साउनको अन्तिम साता । पुराना मित्र र यतिबेलाका वरिष्ठ पत्रकार दीपक आचार्यको अनायास फोन आयो । उनले एउटा नयाँ उपन्यासको लोकार्पण हुन लागोको कुरा जानकारी गराउँदै त्यसका बारेमा केही बोलिदिन मित्रवत् आग्रहसमेत गरे । मित्रको आग्रह टार्न सकिएन र उक्त उपन्यास सम्पूर्ण किताब, नारायणगढमा छाडिदिन भनेँ । उनी त्यहीँ रहेछन्, हुन्छ भनेर फोन राखे ।
भोलिपल्ट समय मिलाएर किताब लिएँ । किताबको नाम ‘मन्द मुस्कान’ रहेछ भने लेखक रहेछन् कृष्ण विभूति । शिखा बुक्स, काठमाडौँले प्रकाशन गरेको उक्त उपन्यासले जम्मा १९२ पृष्ठको आयाम बोकेको भए पनि मूल्य भने रु. ५२५/- राखिएको रहेछ । किताब बोकेर घरमा आएँ । कार्यक्रम कहिले हुने ? कसले गर्ने ? कहाँ गर्ने ? केही पत्तो थिएन । त्यही भएर टेबुलमा माथि नै देखिने गरी किताब राखेँ, परेको बेला पढ्ने विचार गरेर ।
अनि लोकार्पण समारोहका कुरा
साउनको पहिलो दिनमा हुनुपर्छ, चितवन साहित्य परिषद्का अध्यक्ष जगन्नाथ पण्डितले फोन गरेर “भदौको ६ या ७ गते ‘मन्द मुस्कान’को लोकार्पण समारोह हुने कुरा छ । तपाईंको हातमा किताब पुगेको छ भन्ने सुनेको छु । सम्भवतः सगुन पार्टी प्यालेस, भरतपुरमा कार्यक्रम हुने छ ।” भन्ने जानकारी गराएका थिए । मैले हुन्छ भन्ने छोटो उत्तर दिएको थिएँ । त्यसपछि कृति पढ्दै गएँ । भदौ ७ गते मात्र भोलिपल्ट भदौ ८ गते सोमबार त्यो कार्यक्रम हुने सूचना फेसबुकमार्फत् सार्वजनिक भयो । समय राखिएको थियो, दिउँसो २ः०० बजे । बिदाको दिन नभएको र दिउँसोको समय राखिएको हुनाले तोकिएको समयमा न्यून उपस्थिति रहे पनि कार्यक्रम चल्दै गएपछि उपस्थिति बढ्दै गएको थियो ।
अन्य उपस्थिति छाडेर ससर्ती हेर्दा लोकार्पण समारोहमा शान्ति शर्मा र मलाई समीक्षकका रुपमा उभ्याइएको थियो । हामीले उपन्यासका राम्रा पक्ष र सुधानुपर्ने कुराका बारेमा पनि बोलेका थियौँ । लेखकसँग त्यसपछि फेरि भेट्नु असम्भव भएकाले पनि त्यसो गरिएको थियो । त्यसका बारेमा लेखक तथा पत्रकार बसन्त पराजुलीले विमति रहेको कुरा मञ्चबाटै बोले । हामी समीक्षकको काम लेखकलाई फुक्र्याउने मात्र होइन, लेखकबाट अझ सशक्त कृति आओस् भन्ने कामना गर्ने पनि हो । यसबारेमा लेखकहरु किन बुझ्दैनन् कुन्नि ? के सबै लेखक प्रशंशाका भोका मात्र हुन्छन् ?
मन्द मुस्कानको सामान्य चिरफारका कुरा
उपन्यासकार कृष्ण विभूतिको दोस्रो साहित्यिक कृति र पहिलो उपन्यासका रुपमा बजारमा आएको ‘मन्द मुस्कान’ खासमा एउटा प्रेमकथा हो । यसमा साठीको दशकमा नेपाली समाजमा देखिने क्याम्पस अध्ययन गर्दै गरेका युवायुवतीको प्रेमलाई केन्द्रमा राखेर कथावस्तुलाई अगाडि बढाइएको छ । लेखक स्वयम्ले पनि यसलाई प्रेमकथा भएको कुरा यसरी स्वीकार गरेका छन् :
“यस उपन्यासको केन्द्रमा एउटा सरल तर गहिरो सत्य छ– प्रेम केवल मिलनमा सीमित हुँदैन, प्रेम त आत्मासँग हुन्छ, शरीरसँग होइन । बाध्यात्मक सम्बन्धहरु अरु कोहीसँग जोडिए पनि आत्मा उहीसँग रहन्छ, जोसँग सच्चा प्रेम हुन्छ । यही कारणले प्रेम सहनशीलतामा बाँच्छ । यसको वास्तविक परीक्षा सँगसँगै बिताएका रमाइला क्षणहरुमा होइन, बरु टाढा हुँदा भोगिएका पीडामा, जिम्मेवारीको बोझमा, मौन त्यागमा र सम्झनाले छोड्न नमान्ने हठमा हुन्छ, जहाँ प्रेम चिच्याउँदैन, तर अझ गहिरो भएर बसिरहन्छ ।”
केही लामा र केही छोटा गरी जम्मा जम्मा सोह्रवटा परिच्छेदमा विभक्त यो उपन्यासको समाख्याताका रुपमा सन्देश रहेको छ भने उसले आफ्नो र आफ्नी प्रेमिका सीमाको कथा सँगसँगै अगाडि बढाएको छ । यसमा पत्रमार्फत् अभिव्यक्त हुने प्रेम, ल्यान्डलाइन फोनमार्फत् भएका संवाद, फोन कुरेर बसेका क्षणहरु, धेरैपछि इमलेमार्फत् संवाद भएको कुरा र निकैपछि मात्र मोबाइलमा फोन गरेको सन्दर्भ आएको छ । यसमा तिथिमिति र स्थान किटान गरिएको छैन । तर काठमाडौँका ठाउँहरु भने उल्लेख गरिएको छ । सन्देश प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेर सानै उमेरमा जागीर खान थानेको युवक हो । उसले जागीरमा जाने क्रममा एउटै बसमा यात्रा गरेकी सीमासँग मनमनै प्रेम गर्छ । त्यो प्रेम समयक्रममा हुर्किन्छ, तर फुल्न नपाउँदै उसँग राम्ररी बिदाबादी नभई परिवारले व्यवस्था गरिदिएका कारण अनायास पढाइको सिलसिलामा विदेशतिर लाग्छ ।
करिव एक वर्ष बसेपछि कलेजको छुट्टीको समयमा सबै साथी नेपाल फर्केका कारण सन्देश पनि नेपाल फर्कन्छ । नेपाल फर्केपछि उसलाई विदेश जान मन लाग्दैन र यतै बस्छ । विदेश छोडेर नेपाल आएको सन्देशले स्नातक तह भर्ना गर्छ र कलेज जान थाल्छ । यता नेपालमा बसेकी सीमा भने सन्देशलाई कुरेर बसेकी हुन्छे । कलेज जाँदा सन्देशको सीमासँग फेरि भेट हुन्छ र उनीहरुको प्रेम फेरि मौलाउन पुग्छ । यस्तैमा फेरि सन्देशको विदेश जाने कुरा चल्छ । परिवारको दबाबमा भावना नामकी अर्की युवतीसँग विवाह गरेर बेलायततर्फ अध्ययनका लागि प्रस्थान गर्छ । त्यो विवाह केवल सम्झौताजस्तो मात्र हुनपुग्छ, पिआर पाउनेबेलामा भावनाले सन्देशसँग छोडपत्र लिन्छे । त्यसपछि सन्देश एक्लै पर्छ र केही समयका लागि नेपाल फर्कन्छ । फेरि विदेश जान्छ र मनमा सीमालाई साँचेर बस्छ । परिवारले उनीहरुको प्रेम स्वीकार नगर्नुको कारण लेखकले उनीहरुको जात भएको देखाएका छन् । उनीहरुको प्रेमलाई अन्तर्जातीय सम्बन्ध देखाउँदै त्यो प्रेम विवाहमा परिणत हुन नसकेको देखाइएको छ ।
उपन्यासको अन्तिममा भने उनीहरुको प्रेमलाई परिवारले स्वीकार गरेको देखाइएको छ । बाआमा बुढाबुढी भएको कारण उनीहरुलाई हेरचाह गर्ने बाहनामा विदेशको सबै सुविधा त्यागेर सन्देश नेपालमा बस्ने निर्णय गरेको देखाएर उपन्यासको अन्त्य गरिएको छ । यो सामान्य खालको कथा हो । यसमा सन्देशको मन केही समय भावना र सीमामा बाँडिएको देखाइएको छ । यसका मुख्य पात्रहरु भावना स्वार्थी नारी हो भने सन्देश विभक्त मानसिकता बोकेको पात्र हो । यसकी नायिका सीमा प्रेममा आफूलाई पूर्ण रुपमा समर्पित गर्ने पात्रका रुपमा देखिएकी छ । यसमा नेपालको काठमाडौँ र पोखराजस्ता सहरको चर्चा छ भने सन्देशले जागीर खाएको पहाडको गाउँ र उसको घर भएको तराईको ठाउँको भने नामै दिइएको छैन । यसमा लेखक अलिक चुकेका छन् ।
उपन्यासका केही सन्दर्भहरुका लागि हेरौँ केही उदाहरण :
– “मेरो कार्यालयमाचाहिँ पुरानो ल्यान्डलाइन फोन थियो । फोन गर्न डायल घुमाउनुपथ्र्यो । लाइन पक्रन समय लाग्थ्यो, धैर्य चाहिन्थ्यो । “टक–टक” आवाजसँगै मन पनि कताकता धड्किन्थ्यो ।” (पृ. १५)
– “हवाईजहाजबाट झर्नेििबत्तिकै दायाँबायाँ केही नसोची सुटकेस बोकेर ट्याक्सी चढेँ, बसपार्क पुगेर बस चढी खुरुखुरु घरतिर लागिहालो । करिब चार घन्टाको यात्रापछि घर पुगेँ ।” (पृ. ६१)
– “बस स्टपमा उभिँदा साँझको हावा हल्का चिसो थियो । केही क्षण हामी मौन भयौँ । ती क्षणहरुमा धेरै कुरा बोलिए तर शब्दबिना । बस आयो । उनी चढिन् । ढोकाबाट हेर्दै “बाइ” भनिन् । बस बिस्तारै अघि बढ्यो ।” (पृ. ७५)
– “शनिबारको दिन बिहानै म सीमाको घर नजिकैको चोकमा मोटरसाइकल रोकेर उभिएको थिएँ । हावामा बिहानको चिसोपन अझै बाँकी थियो । सडक पूर्ण रुपमा ब्युँझिएको थिएन । म भने सीमा आउने बाटेतिर आँखा लगाउँदै बसेको थिएँ ।” (पृ. ११३)
– “जुन सम्बन्धमा म सुरुदेखि नै त्यति इच्छुक थिइन तर समाजको डर, जातभातको कुरा, ठुलो–सानोको हिसाबले बनेका अदृश्य पर्खालहरुका कारण अन्ततः गाँसिएको त्यो नाता टुट्यो । आज त्यही समाजलाई गएर “अब साथ छुट्यो” भनेर कसरी सुनाऊँ ?” (पृ. १६९)
यी माथिका उदाहरणहरु उपन्यासबाट साभार गरिएका त्यस्ता सन्दर्भ हुन्, जसले उपन्यासको कथालाई मात्र अगाडि बढाउँदैनन्, बरु त्यतिबेलाको समयमा पाठकलाई जबर्जस्ती डोर्याउँछन् । हो, पचासको दशकको मध्यदेखि साठीको दशकको मध्यसम्मको नेपालको हालत यस्तै थियो । त्यही हालतलाई यो उपन्यासमा सरल र सहज तरिकाले चित्रण गरिएको छ ।
उपन्यासकारलाई केही सुझाउका कुरा
अन्त्यमा, उपन्यासकार कृष्ण विभूति अर्थात् कृष्ण पण्डितलाई एउटा प्रश्न छ मेरो, “कृष्णजी, तपाईंको यो उपन्यास मन्द मुस्कान हो कि प्रगाढ प्रेम ?” प्रेममा मुस्कान त हुन्छ नै । समर्पण र त्यागसँगै अलिकति घुर्की पनि जायज हुन्छ । यसमा सीमाले सन्देशसँग कुनै घुर्की देखाएकी छैनन् । यस्तो खालको प्लुटोनिक प्रेम आजको जमानामा साँच्चै हुन्छ र भन्या ? कि उपन्यास र कथामा चाहिँ हुन्छ ? अनि नि कृष्णजी, तपाईंले हामी उमेरमा पचास कटेकाहरुको कथालाई राम्ररी उन्नुभएको छ । यसका लागि तपाईं बधाईका पात्र हुनुहन्छ ।
कृष्णजी, हामीले सहज जीवन मात्र कहाँ बाँच्यौँ र ? हाम्रै पालामा पञ्चायती दमन पनि थियो, प्रजातन्त्रका लागि आन्दोलन पनि भयो । त्यति मात्र कहाँ हो र ? हामीले दसबर्से जनयुद्ध र त्यसका प्रभाव पनि त भोग्यौँ । खोई त त्यसको बयान ? लेखकले कृतिमा आफू बाँचेको समय लेख्दा ढाँटेर लेख्न पाइन्छ ? प्रेम भनेर समाज, घरपरिवार, देश आदिको चर्चा गर्दा नामसमेत लिन कन्जुसी किन गर्नुभयो ? सन्देशको परिवारका बारेमा किन मौन बस्नुभयो ? अन्तर्जातीय सम्बन्ध भनिसकेपछि सन्देश र सीमाको जात केके थियो ? भनेर खुलाउनुपर्थेन ? हो, कमीकमजोरी जेमा हुन्छ । पूर्णता भन्ने कुरा हाम्रो चाहना मात्र हो । यी तमाम कमीजोरीका बाबजुद पनि उपन्यास मध्यम खालको बनेको छ । अब अर्को उपन्यास लेख्नुभयो भने उपन्यास बनाउन केके चाहिन्छ ? ती चिजलाई कसरी व्यवस्थापन गर्न सकिन्छ ? भन्ने बारेमा एकपटक सोच्नुहोला । यहाँको सरल र सहज भाषाले भने पाठकलाई पक्कै तान्ने छ । यहाँको मन्द मुस्कान बुलन्द तरिकाले पाठकका माझमा फैलियोस् भन्दै्र कलम रोक्छु । भबतु सब्ब मङ्गलम् ।
– भरतपुर, गाईजात्रा, २०८३





