चितवन, ११ फागुन ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार बन्नुभएकी मीना खरेलले आफ्नो जीवन सधैँ समाजसेवामा समर्पित गरेको बताउनुभएको छ । लामो समय सामाजिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएकी उहाँ नेपाली काँग्रेसबाट चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्नुभएको हो ।
भरतपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले अबको जीवन देश र जनताको सेवामा समर्पित गर्ने उद्देश्यले प्रतिस्पर्धामा उत्रिएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो- `अहिलेसम्म असहायहरूको सेवा गरेँ, अब देश र जनताको लागि पूर्ण समर्पित भएर काम गर्न चाहन्छु ।´
देशको वर्तमान विषम परिस्थितिमा जनताको घरदैलोमै पुगेर काम गर्न सक्ने उम्मेदवार आफू नै भएको उहाँको दाबी छ । जनताले आफ्ना प्रतिनिधि भेट्न चुनाव कुर्नुपर्ने अवस्था आउन नदिने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो – `अब जनताले आफ्नो प्रतिनिधि खोज्दै हिँड्नुपर्ने अवस्था आउने छैन।” उहाँले थप्नुभयो – `समाजको काममा नथाकेको म देशको काममा थाक्ने छैन ।´
उहाँले आफ्ना मुद्दाहरू जनताको भावना अनुरूप रहेको उल्लेख गर्दै काँग्रेस सधैँ जनताको जीविकोपार्जनका लागि प्रतिबद्ध रहने बताउनुभयो । बदलिएको काँग्रेस अब जनतामाझ नयाँ रूप र सोचका साथ आएको दाबी गर्दै उहाँले आफ्नो प्रतिस्पर्धी कोही नरहेको उल्लेख गर्नुभयो । काँग्रेसका नेता गगन थापा युवा पुस्ताको भावना अनुसार नेतृत्व गरिरहनुभएको उल्लेख गर्दै सबैलाई एकताबद्ध भई विजय गराउन आग्रह गर्नुभयो ।
कार्यक्रम नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीतनारायण श्रेष्ठले काँग्रेस नयाँ नेतृत्व र नीतिका साथ अघि बढिरहेको उल्लेख गर्दै पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन सबैलाई आग्रह गर्नुभयो ।
यसैबीच, चितवन क्षेत्र नम्बर १ मा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । रत्ननगर नगरपालिका–१४ मा आयोजित कार्यक्रममा जेन–जी युवाहरूले आफ्ना भावना सम्बोधन गर्न आग्रह गरेका थिए । सो क्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजेन्द्र बुर्लाकोटीले काँग्रेसमा युवा भावना अनुरूप परिवर्तन भएको बताउँदै आफू पनि युवाको अपेक्षा अनुसार काम गर्न उम्मेदवारी दिएको बताउनुभयो ।
कार्यक्रममा काँग्रेस जिल्ला सभापति राजेश्वर खनाल, क्षेत्रीय निर्वाचन संयोजक किरण भूषण ओली, राष्ट्रिय सभा सदस्य गीता देवकोटा, चितवन–काठमाडौं सम्पर्क समाजका सभापति ऋषेश्वर थपलिया, नेतृ नीता ढकाल र अनिता अर्याललगायतले देशको जिम्मेवारी काँग्रेसले वहन गर्ने धारणा राख्नुभयो ।
यस्तै, चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार टेकप्रसाद गुरुङले थारु समुदायका माग सम्बोधन गर्न काँग्रेसको नेतृत्व आवश्यक रहेको बताउनुभयो । माडी नगरपालिका–४ लगायतका वडामा आयोजित घरदैलो कार्यक्रममा बोल्दै उहाँले थारु समुदायका माग पूरा गर्न काँग्रेस प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – `काँग्रेस सधैँ जनताको पक्षमा छ र आगामी दिनमा पनि रहनेछ ।´
हाल जिल्लाका सबै वडाहरूमा काँग्रेसका नेता तथा कार्यकर्ताहरूले नियमित घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् ।





