बाँके, ११ फागुन ।
बाँके जिल्ला क्षेत्र नम्बर–१ उर्वर भूमि, प्रशस्त सिँचाइ सम्भावना र नजिकैको बजार पहुँचका कारण कृषि उत्पादनका हिसाबले अत्यन्त सम्भावनायुक्त क्षेत्र मानिन्छ । तर यथार्थ भने सम्भावनाअनुसारको उपलब्धि हासिल हुन नसकेको देखिन्छ । स्पष्ट कृषि नीति, प्रभावकारी कार्यान्वयन र किसानमैत्री कार्यक्रमको अभावले यहाँको कृषि क्षेत्र अपेक्षित रूपमा अघि बढ्न सकेको छैन ।
स्थानीय किसानहरूका अनुसार मल र उन्नत बीउ समयमै नपाइनु, सिँचाइ सुविधा अपर्याप्त हुनु, उत्पादनको उचित मूल्य नपाउनु र प्राविधिक सहयोगको कमी मुख्य समस्या हुन् । “उत्पादन त गर्छौँ, तर लागतसमेत उठ्ने गरी मूल्य पाइँदैन,” एक किसानको गुनासो छ। बजार मूल्यको अनिश्चितताले किसान निराश छन् भने सरकारी खरीद प्रणाली प्रभावकारी नहुँदा बिचौलियाको नियन्त्रण बढिरहेको छ ।
यिनै समस्यालाई मुख्य एजेन्डा बनाएर प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायण प्रसाद गौडेल चुनावी मैदानमा उत्रिएका छन् । जनताको मन जित्दै आएका गौडेल कुशल, स्पष्ट र प्रतिबद्ध नेताका रूपमा चिनिन्छन् । नेपाली कांग्रेस बाँके जिल्ला सभापतिका रूपमा रहँदा उनले संगठन सुदृढीकरण, कार्यकर्ताबीच समन्वय र जनतामुखी कार्यक्रम सञ्चालनमा सक्रिय भूमिका खेलेका थिए । अन्य राजनीतिक दलका नेताहरूले समेत उनको नेतृत्व क्षमताको प्रशंसा गर्ने गरेका छन् ।
लोकतान्त्रिक व्यवस्थामा मतदाता केवल अधिकार प्रयोग गर्ने पक्ष मात्र होइन, भविष्य निर्धारण गर्ने जिम्मेवार नागरिक पनि हुन् । त्यसैले आगामी निर्वाचनमा उम्मेदवारको व्यक्तित्व, अनुभव, दृष्टिकोण र जनताप्रतिको प्रतिबद्धता महत्त्वपूर्ण आधार बन्नेछ । गौडेल बाँके क्षेत्र नम्बर–१ लाई कृषि उत्पादनको नमुना क्षेत्रका रूपमा विकास गर्न सकिने बताउँछन् ।
उनका अनुसार सिँचाइ विस्तार, न्यूनतम समर्थन मूल्यको सुनिश्चितता, प्रभावकारी सरकारी खरीद प्रणाली र भण्डारण पूर्वाधार अनिवार्य रूपमा लागू गरिनुपर्छ ।
“बाँकेमा सम्भावना प्रशस्त छ, अब नीति कागजमा सीमित होइन, खेतमै देखिनुपर्छ,” गौडेल भन्छन् । उनी युवा लक्षित कृषि उद्यम कार्यक्रम सञ्चालन, सहुलियत ब्याजदरमा कृषि ऋण, आधुनिक प्रविधिको प्रयोग, कोल्ड स्टोर र प्रशोधन उद्योग स्थापना जस्ता योजनामार्फत कृषि क्षेत्रलाई रोजगारी सिर्जनाको आधार बनाउन सकिने धारणा राख्छन् । यसले युवा जनशक्तिलाई स्वदेशमै अवसर सिर्जना गरी वैदेशिक रोजगारीतर्फको पलायन घटाउन मद्दत पुग्ने उनको विश्वास छ ।
वि.सं. २०२१ सालमा पर्वत जिल्ला मा जन्मिएका नारायणप्रसाद गौडेल वि.सं. २०३८ सालदेखि बाँकेको कोहलपुरमा बसोबास गर्दै आएका छन् । वि.सं. २०४८ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएका उनी तरुण दल कोहलपुरका संस्थापक अध्यक्ष हुन् । एसएलसीसम्म अध्ययन गरेका गौडेल स्पष्ट वक्ता र सोझो स्वभावका नेताका रूपमा परिचित छन् । उनी प्रायः भन्छन्, “सक्ने काम गर्छु, नसक्ने काम गर्दिनँ ।”
वि.सं. २०५५ सालमा नेपाली कांग्रेस बाँके जिल्ला कार्यसमिति सदस्य बनेका गौडेल त्यसको चार वर्षपछि सह–सचिव बने । वि.सं. २०६१ मा बाँके क्षेत्र नम्बर–१ का क्षेत्रीय सभापति तथा वि.सं. २०६७ सालमा केन्द्रीय संगठन विभाग सदस्य चयन भई पार्टी संगठन विस्तारमा सक्रिय रहे ।
कृषि विज्ञहरूका अनुसार बाँकेमा तरकारी, फलफूल, पशुपालन, माछापालन र मौरीपालनका क्षेत्रमा ठूलो सम्भावना छ । तर दीर्घकालीन नीति, बजेटको सुनिश्चितता र स्थानीय–प्रदेश–संघ सरकारबीच प्रभावकारी समन्वयबिना ती सम्भावनाहरू साकार हुन कठिन छ । स्थानीयवासीहरू अब केवल नारा होइन, किसानको आयस्तर वृद्धि गर्ने र जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउने कार्यक्रम कार्यान्वयन भएको देख्न चाहन्छन् ।
बाँके–१ मा कृषि विकासलाई मुख्य आधार बनाएर अघि बढ्ने गौडेलको प्रतिबद्धता अब मतदाताको निर्णयको पर्खाइमा छ । चुनावी परिणामले यहाँको कृषि भविष्य कता मोडिन्छ भन्ने तय गर्नेछ ।





