हेटौंडा, ११ फागुन ।
बागमती प्रदेशका कृषि तथा पशुपन्क्षी विकास मन्त्री मधुसूदन पौडेलले प्रदेशभित्र माटो परीक्षणलाई अभियानकै रूपमा सञ्चालन गर्ने घोषणा गरेका छन् ।
बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतका कार्यालयहरूको आर्थिक वर्ष २०८२/०८३ को अर्धवार्षिक प्रगति समीक्षा गोष्ठीको उद्घाटन सत्रलाई भण्डारामा सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।
उत्पादन वृद्धिका लागि माटो परीक्षण अनिवार्य
मन्त्री पौडेलले किसानहरूले लामो समयदेखि परम्परागत रूपमा एउटै किसिमको बाली लगाउँदै आएकाले उत्पादनमा गिरावट आएको औंल्याए ।
“माटोमा अत्यधिक मात्रामा अम्लीयपन बढ्दै गएको छ, जसले उत्पादकत्व घटाएको छ,” मन्त्री पौडेलले भने, “अब माटो परीक्षणलाई अनिवार्य र अभियानकै रूपमा अघि बढाइनेछ । परीक्षणले मात्र उत्पादन वृद्धिलाई वास्तविक सहयोग पुर्याउँछ ।”
उनका अनुसार वैज्ञानिक माटो परीक्षणमार्फत उचित मलखाद र बाली व्यवस्थापन अपनाए मात्रै दिगो उत्पादन सम्भव हुनेछ ।
अनुदान प्रणालीमा व्यापक सुधार
मन्त्री पौडेलले मन्त्रालयले वितरण गर्दै आएको अनुदान प्रणालीमा ठूलो हेरफेर गरिने स्पष्ट पारे । वितरणमुखी अनुदानले किसानलाई परनिर्भर बनाएको टिप्पणी गर्दै अबदेखि उत्पादनमा आधारित, ब्याज अनुदान तथा नवयुवा लक्षित कार्यक्रमलाई मात्र प्राथमिकता दिइने बताए ।
“उत्पादनमा आधारित नभएका अन्य सबै प्रकारका अनुदानहरू अब बन्द गरिनेछन्,” उनले थपे, “हाम्रो लक्ष्य वास्तविक किसानलाई प्रोत्साहन गर्ने र कृषिमा युवा सहभागिता बढाउने हो।”
धुलो दूध कारखानाको सञ्चालनमा जोड
कार्यक्रममा मन्त्रालयका सचिव बैकुण्ठ अधिकारीले प्रदेश सरकारको लगानीमा निर्माण भएको धुलो दूध कारखाना सञ्चालनका लागि स्पष्ट कार्ययोजना (मोडालिटी) आवश्यक रहेको बताए । उनले कारखाना सञ्चालनको ठोस मोडालिटी तयार गर्न दुग्ध विकास बोर्डका निर्देशकलाई निर्देशनसमेत दिए ।
वित्तीय प्रगति र बेरुजुमा चिन्ता
सचिव अधिकारीले मन्त्रालयको वित्तीय अवस्थाप्रति चासो व्यक्त गर्दै कृषि निर्देशनालयको हालसम्मको वित्तीय प्रगति सन्तोषजनक नरहेको बताए ।
मन्त्रालय मातहतका कार्यालयहरूको कुल ८६ करोड रुपैयाँ बेरुजु रहेकामा पशुपन्छी तथा मत्स्य निर्देशनालयको मात्र ३८ करोड रुपैयाँ रहेको उल्लेख गर्दै उनले तत्काल प्रभावकारी काम गर्न निर्देशन दिएका छन् ।
आजसम्म सञ्चालन हुने समीक्षा गोष्ठीमा बागमती प्रदेश मातहतका जिल्लास्थित कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, तालिम केन्द्रका प्रमुखहरू र निर्देशनालयका प्रमुखहरूको उपस्थिति रहेको छ । गोष्ठीको पहिलो दिन जिल्लास्थित कार्यालय र निर्देशनालयहरूले आफ्नो अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।




