चितवन, ९ फागुन ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै चितवनमा क्षेत्रीय महिला भेला सम्पन्न भएको छ । चितवन निर्वाचन क्षेत्र नम्बर २ की उम्मेदवार मीना खरेललाई विजयी गराउने उद्देश्यसहित भेला आयोजना गरिएको हो ।
भेलामा वक्ताहरूले निर्वाचनमा महिलाको सक्रिय तथा निर्णायक भूमिका अपरिहार्य रहेकोमा जोड दिए । उनीहरूले मीना खरेललाई विकासप्रेमी, जनमुखी र सक्षम उम्मेदवारका रूपमा प्रस्तुत गर्दै आगामी निर्वाचनमा भारी मतका साथ विजयी गराउन सबै महिला एकजुट भएर लाग्न आह्वान गरे । चितवन–२ को समग्र विकास, महिला सशक्तीकरण, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनाका मुद्दालाई प्राथमिकतामा राख्दै घरदैलो अभियानलाई तीव्र बनाइने प्रतिबद्धता समेत जनाइएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सह–महामन्त्री डा. डिला संग्रौलाले चितवन–२ मा मिना खरेललाई अत्यधिक मतले विजयी गराउन आवश्यक रहेको बताइन् । “मीना दिदी महिला र बालबालिकाको मात्र होइन, समग्र देशकै अभिभावक जस्तै व्यक्तित्व हुनुहुन्छ । त्यसैले उहाँलाई विजयी गराउनु समयको आवश्यकता हो,” उनले भनिन् । समाजसेवी व्यक्तित्व मीना खरेल देशको नेतृत्व क्षमतासहितको उम्मेदवार भएको उनले दाबी गरिन् ।
उनले हाल नेपाली कांग्रेसमा छुट्टै उत्साह र उमंग छाएको उल्लेख गर्दै लामो समयपछि रुख चिन्हमा मतदान गर्न पाउने अवसरले कार्यकर्तामा थप ऊर्जा आएको बताइन् । “कांग्रेसको विकल्प कांग्रेस नै हो, लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो। देशको विकास गर्ने शक्ति कांग्रेससँगै छ, र त्यसका लागि मीना खरेलजस्ता सक्षम पात्र आवश्यक छन्,” उनले भनिन् । खरेललाई युवा, महिला, बालबालिका र ज्येष्ठ नागरिक सबैले रुचाएको उल्लेख गर्दै उनले एकताबद्ध भएर चुनावी अभियानमा जुट्न आग्रह गरिन् ।
उम्मेदवार मीना खरेलले महिला शक्तिको साथ, विश्वास र ऊर्जा नै आफ्नो मुख्य आधार भएको बताउँदै जनताको अपेक्षा अनुरूप काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले निर्वाचनलाई लोकतन्त्रको उत्सवका रूपमा मनाउँदै शान्तिपूर्ण र सभ्य वातावरणमा मतदान सम्पन्न गराउन सबैमा अपिल गरिन् ।
भेलामा विभिन्न राजनीतिक दलका महिला नेतृ तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।





