गैंडाकोट, ९ फागुन।
गत असोजमा ‘मनको अदालत’ कवितासङ्ग्रह प्रकाशनमा ल्याएर साहित्यिक यात्रामा औपचारिक पाइला टेकेकी कवि मेनका चापागाईं काप्री निरन्तर सिर्जनशील साधनामा सक्रिय छिन् । पहिलो कृतिपछि अझ परिपक्व र धारिलो अभिव्यक्तिका साथ अघि बढिरहेकी काप्रीले शनिबार गैंडाकोटमा एकल कवितावाचनमार्फत आफ्नो सशक्त उपस्थिति दर्ज गराइन् ।
अक्षर समूह चितवनद्वारा आयोजित ‘एक कविका एक दर्जन कविता’ कार्यक्रममा कवि काप्रीलाई विशेष रूपमा प्रस्तुत गरिएको थियो । कार्यक्रममा उनले दसवटा कविता वाचन गरिन् भने दुई जना अतिथि कविले पनि साथ दिएका थिए ।
काप्रीले ‘म कवि’ शीर्षकबाट वाचन प्रारम्भ गर्दै क्रमशः ‘लेखापरिक्षक’, ‘बदलिएको समय’, ‘दुश्मन फेरिएको दिन’, ‘खरानीको फूल’, ‘माईली दिदीको परिचयपत्र’, ‘माने दाइ उपसचिव बने’, ‘नथुवा चौधरी’, ‘स्त्री आव्हान’ र ‘म चेतनाको कल्पवृक्ष हुँ’ शीर्षकका कविता प्रस्तुत गरिन् । उनका कवितामा प्रेमका कोमल अनुभूति मात्र होइन, समाजका यथार्थ, राजनीतिक विसंगति र परिवर्तनको आकांक्षा स्पष्ट रूपमा झल्किएको थियो ।
अतिथि कवि समिता पौडेल न्यौपानेले ‘मेरो अनुपस्थिति’ र शून्य नयनले ‘जब कवितासँगै जिउन थालें म’ शीर्षकका कविता वाचन गर्दै कार्यक्रमलाई थप अर्थपूर्ण बनाएका थिए ।
कार्यक्रममा कवि काप्रीले सामाजिक तथा राजनीतिक चेतनाले भरिएका सिर्जनामार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने आफ्नो उद्देश्य रहेको बताइन् ।
लेखराम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सूर्यप्रकाश कँडेलले स्वागत मन्तव्य राखेका थिए । संस्थापक अध्यक्ष भूपिनले २०६२ सालदेखि अक्षर समूहले निरन्तर कृति चर्चा, कवितावाचन तथा विविध साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको जानकारी गराए । कार्यक्रमको सहजीकरण सचिव विनोदबाबु रिजालले गरेका थिए ।



