रहरलाई आम्दानीमा बदल्ने फूलप्रेमीको प्रेरणादायी कथा

इटहरी निवासी रुथ गुरुङ्गले केही समयअघि मात्रै पूर्वाञ्चल विश्वविद्यालयबाट सामाजिक कार्यमा स्नातकोत्तर तहको अध्ययन पूरा गरिन् । समाजसेवामा रुचि राख्ने रुथ केवल मानव जाति मात्र नभई फूलको समेत सेवासुश्रुषामा रमाउँछिन् । उनले फूल र बगैँचाप्रतिको यही सौखलाई सफल व्यवसायमा परिणत गरेकी छिन् ।

रुथलाई सानैदेखि फूल असाध्यै मन पर्थ्यो । यसमा उनकी आमा र आन्टीको विशेष हात रहेको उनी सुनाउँछिन् । मैले सानो छँदादेखि नै आमा र आन्टीले फूलको हेरचाह गरेको देख्थेँ । उहाँहरूले फूलमा पानी हालेको अनि गोडमेल गरेको देख्दा मलाई पनि रमाइलो लाग्थ्यो । उहाँहरूका कारण म फूलको सुन्दर संसारमा आकर्षित भएकी हुँ जस्तो लाग्छ । आज उनी त्यही लगाव र मेहनतका कारण एक सफल फूल व्यवसायीको रूपमा चिनिएकी छन् ।

बेगनबेलीको रंगीन संसार

उनको बगैंचामा हाल विभिन्न प्रजातिका बेगनबेलीले रंगीन संसार सिर्जना गरेका छन् । क्यालिफोर्निया गोल्ड, मिस एलिस, जाकिराना पिंक, ओरेन्ज किङ, महारानी, पर्पल रिफल्जेन्स, र सिल्हूट जस्ता अनेकौं प्रजातिले उनको खेतलाई जीवन्त बनाएका छन् । उनले रोपेका अन्य प्रजातिहरूमा ट्याङलङ, बार्बरा कास्ट, वीरा डीप पर्पल, लिलाक फोर्मोसा, स्प्लास, चित्रा क्रिम, २१ ज्वेल, लेडी बर्ड बाटिक, बिदादरी, येलो ट्याङलङ, स्नो रेड, रेड थिमा, बटरकप, अडरना वाजिद रेड, पिंक ट्याङलङ र सुभ्रा पनि पर्छन् ।

फूलले सिकायो धैर्यताको पाठ

फूल खेती सुरु गर्नुअघि उनको जीवन फरक थियो। घरको काम सकेपछि दिनभर फुर्सदिला क्षणहरूमा मनमा अनेक कुरा खेल्ने र तनाव बढ्ने समस्या थियो। तर जबदेखि उनले फूलसँग आफ्नो समय बिताउन थालिन्, उनको जीवनमा सकारात्मक परिवर्तन देखिन थाल्यो । “फूलहरू रातारात फुल्दैनन्। पहिले हेरचाह चाहिन्छ । पानी हाल्नुपर्छ, लामो समय पर्खनुपर्छ अनि विश्वास राख्नुपर्छ,” उनी भन्छिन्। यसरी फूलबाट नै उनले धैर्यताको सबैभन्दा ठूलो पाठ सिकेको बताउँछिन् ।

उनको दैनिकी अहिले बिहानको चिसो हावासँगै फूलको स्याहारबाट सुरु हुन्छ र साँझको शीतलतासँगै बोटबिरुवाको हेरचाहमा बित्छ। यो कामले उनलाई प्रकृतिसँग नजिक बनाएको छ र मानसिक शान्ति दिएको छ। उनी भन्छिन्, “प्रकृतिसँग हुँदा मन खुसी हुन्छ र अनावश्यक चिन्ता हराउँछ।”

सफलताको डिजिटल यात्रा

यतिबेला उनको बगैंचाका फूलहरूले स्थानीयको ध्यान खिच्न थालेको छ । बजारमा बेगनबेलीको माग बढेपछि उनले यसलाई व्यावसायिक रूप दिने निर्णय गरेकी छिन् । अहिले उनी स्थानीय बजारमा आफ्नै उत्पादन बिक्री गरेर आत्मनिर्भर बनेकी छिन् र घर खर्चमा पनि सहयोग पुर्‍याइरहेकी छिन्।

पुष्प व्यवसायसम्बन्धी आफ्नो ज्ञान र अनुभवलाई अरूसम्म पुर्‍याउन उनले युट्युब च्यानल पनि सुरु गरेकी छिन्। च्यानलमार्फत उनी बेगनबेलीको हेरचाह, बिरुवा सार्ने तरिका र फूलको सजावटसम्बन्धी छोटा भिडियोहरू सेयर गर्छिन् । “आफूले मनदेखि गरेको काम अरूसँग बाँड्दा झनै खुसी मिल्छ,” उनी भन्छिन्।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट