मकवानपुर, ६ फागुन ।
झरना साहित्यिक परिवार मकवानपुरले सातौं बकैया-कला साहित्य महोत्सव-२०८२ मा विभिन्न विधाका १० जनालाई सम्मान गरेको छ ।
झरनाले ३२३औं साहित्य शृङ्खला एवम् ३३ औं वार्षिक उत्सवका अवसरमा बुधबार १० जनालाई एकै मञ्चमा पुरस्कारसहित सम्मान गरेको हाे ।
झरनाले साहित्यमा योगदान गरेबापत प्रदान गरिने नगद २१ हजार १ सय २१ रुपैयाँ राशिको होमनाथ–टीकामाया प्रतिभा सम्मान–२०८२ बाट पाँचथरका रमेश शुभेच्छुलाई सम्मानित गरेको छ । बकैयाका साहित्यसेवी नुरप्रसाद गौतमले मातापिताको सम्मानमा उक्त पुरस्कार स्थापना गरेका हुन् ।
यसैगरी जिल्लामा साहित्यिक संस्था स्थापना र जगेर्ना गर्न योगदान गरेबापत प्रदान गरिदै आएकाे नगद १५ हजार ५ सय ५५ रुपैयाँ राशिको बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान–२०८२ बाट मकवानपुरका साहित्यकार डा. निमेष निखिल सम्मानित भएका छन् । साहित्यसेवी विनोद सुवेदीले मातापिताको नाममा उक्त सम्मान स्थापना गरेका हुन् ।
यस्तै साहित्यमा योगदान गरेका युवा साहित्यकारलाई प्रदान गरिने नगद ८ हजार ५ सय रुपैयाँ राशिको खडानन्द–मनमाया प्रतिभा सम्मान–२०८२ बाट नेपालगञ्जकी ऋचा लुइटेल सम्मानित भएकी छिन् । साहित्यसेवीहरू अर्पण पराजुली र दर्पण पराजुलीले मातापिताको सम्मानमा उक्त पुरस्कार स्थापना गरेका हुन् ।
यस्तै मकवानपुरका महिला साहित्यकारलाई प्रदान गरिने नगद ७ हजार ७ सय ७७ रुपैयाँ राशिको सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान–२०८२ बाट मकवानपुरकी एस आर मन्जुरी सम्मानित भएकी छिन् । साहित्यसेवी राजन दङ्गालले आफ्नी छोरीको स्मृतिमा उक्त सम्मान स्थापना गरेका हुन् ।
यसैगरी मकवानपुरको साहित्यकाे सेवा गरे वापत प्रदान गरिदै नगद ७ हजार ७ सय ७७ रुपैयाँ राशिकाे सञ्जीवन-बुटी साहित्य सम्मान–२०८२ बाट मकवानपुरका डा. अर्पण पराजुली सम्मानित भएका छन् । उक्त सम्मान साहित्यसेवी तुलसी गिरीले स्थापना गरेका हुन् ।
यस्तै संस्थाको गतिविधि प्रचारप्रसारमा सहयोग तथा पत्रकारिताको क्षेत्रमा पुर्याएको योगदानको कदरवापत प्रदान गरिदैं आएकाे नगद ११ हजार १ सय ११ रुपैयाँको गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान–२०८२ बाट मकवानपुरका पत्रकार दीपक अधिकारी सम्मानित भएका छन् । गोकर्ण गौतमको परिवारद्वारा उक्त सम्मान स्थापना गरेका हुन् ।
बकैयाका नवप्रतिभाको सम्मान गर्ने उदेश्यले स्थापना भएकाे नगर ५ हजार ५ सय ५५ रुपैयाँ राशिको झरना–बकैया नवप्रतिभा पुरस्कार–२०८२ बाट बकैया ३ स्थित बुद्धमावि हात्तीसुढेकी मोनिका नेगी सम्मानित भएकी छिन् । बकैयाका चन्द्रकुमार राईले उक्त सम्मान स्थापना गरेका हुन् ।
बकैयामा रही कला क्षेत्रकाे माध्यमबाट योगदान गरेवापत प्रदान गरिदै आएकाे नगद ७ हजार ७ सय ७७ रुपैयाँ राशिकाे खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान–२०८२ बाट मकवानपुरका सूर्य सन्यासी सम्मानित भएका छन् । बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले उक्त पुरस्कार आफ्ना पिताको नाममा स्थापना गरेका हुन् ।
यसैगरी छन्द कवितामा योगदान गरेवापत प्रदान गरिदै आएकाे नगद ९ हजार ९ रुपैयाँ राशिकाे ऋषेश्वर–रुक्मिणी–लक्ष्मीदेवि खनाल साहित्य सम्मान–२०८२ बाट भैरहवाकी सिर्जना खनाल सम्मानित भएकी छिन् । जर्नादन खनालले आफ्ना मातापिताको नाममा उक्त सम्मान स्थापना गरेका हुन् ।
यस वर्ष स्थापना भएकाे ‘कुलकुमारी झलकनाथ लोक साहित्य सम्मान-२०८२’ बाट साहित्यकार एवं लोकगायक बझाङका नन्दकृष्ण जोशी सम्मानित भएका छन् । आफ्ना मातापिताको सम्मानमा झरना साहित्यिक परिवार मकवानपुरका संरक्षक उद्धव सापकोटा तथा भरत सापकोटाद्वारा स्थापित नगद ११ हजार १११ रुपैयाँ राशिकाे उक्त सम्मान लोक गीतसंगीतमा सेवा गरेबापत जोशीलाई प्रदान गरिएको हो ।
झरना साहित्यिक परिवारले फागुन ५ र ६ फागुनमा महेन्द्र मावि, बकैयामा ३२३ औं साहित्य शृङ्खला एवम् ३३ औं वार्षिक उत्सव र महाेत्सव कार्यक्रम गरेको झरनाकी अध्यक्ष गायत्री रुपाखेतीले जानकारी दिइन् । उनका अनुसार महाेत्सवमा पुरस्कार समर्पण, चित्रकला प्रदर्शनी, पत्रिका विमोचन, विभिन्न जातजातिका नृत्यहरू, बकैयाको काव्य महक, समकालीन गजल मुक्तक उत्सव, पालिका अध्यक्षलाई ७ प्रश्न, समकालीन काव्य उत्सव, सम्मानित स्रष्टाको रचना वाचन, नवसर्जक रचना वाचनलगायतको कार्यक्रम भएको हो ।
कार्यक्रममा झरनाको ४० औ अङ्क लोकार्पण समेत गरिएको थियो । बकैया ४ स्थित महेन्द्र माविकाे सहकार्य तथा बकैया गाउँपालिकाकाे सहयोगमा भएकाे हाे ।



