चितवन, २ फागुन ।
माडीकी उदीयमान कलाकार परिना भण्डारीले पाँचौं संस्करणको राष्ट्रिय स्तरको स्पर्श म्युजिक भिडियो अवार्डमा उत्कृष्ट बालकलाकार (फिमेल) तर्फ अवार्ड जित्न सफल भएकी छन् ।
फाल्गुन १ गते नेपाल चलचित्र बोर्डको अडिटरियम हलमा आयोजित विशेष समारोहमा उनले “सुनसान रात २ – तिमी टाढा छौ” गीतमार्फत यो सफलता हात पारेकी हुन् ।
गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको छ भने स्वर मिलन नेवारको रहेको छ । भिडियोमा परिनासँगै मिलन नेवार र रामचन्द्र अधिकारीले अभिनय गरेका छन् । निर्देशन राजु जङ्ग बस्नेतले गरेका हुन् ।
यसै गीतबाट उत्कृष्ट गायिका (फिमेल) तर्फ मिलन नेवार र उत्कृष्ट एडिटर तर्फ राजु जङ्ग बस्नेत पनि सम्मानित भएका छन् ।
वैदेशिक रोजगारीको पीडा र आमा–छोरीबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेर निर्माण गरिएको उक्त गीतले दर्शकमाझ गहिरो प्रभाव छोड्न सफल भएको छ ।
माडीको कलात्मक पहिचानलाई राष्ट्रिय मञ्चमा स्थापित गर्न परिनाको यो उपलब्धि महत्वपूर्ण मानिएको छ ।



