पाँच दशकको संघर्ष, नयाँ पुस्ताको भरोसा : परिवर्तन बुझ्ने अनुभवी नेता टेकप्रसाद गुरुङ

परिचय
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार टेकप्रसाद गुरुङ पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा निष्ठा, संघर्ष र संगठनको पर्याय बनेका नाम हुन् । पञ्चायतकालीन दमनदेखि २०६२/६३ को जनआन्दोलन, संविधान निर्माणको ऐतिहासिक घडीदेखि पछिल्ला जेनेरेशन–नेक्स्ट (जेन्जी) आन्दोलनसम्म उहाँको राजनीतिक जीवन सधैं समयको आवाजसँग जोडिएको छ ।
अनुभवले परिपक्व र परिवर्तनप्रति खुला सोच भएका गुरुङ आज नयाँ पुस्ताको असन्तोष, प्रश्न र अपेक्षालाई गम्भीरतापूर्वक सुन्ने नेताका रूपमा चिनिनुहुन्छ ।

पारिवारिक पृष्ठभूमि
२००४ सालमा स्याङ्जा जिल्ला, ढापुक सिमलभन्ज्याङमा जन्मिनुभएका टेकप्रसाद गुरुङ राष्ट्रसेवाको परम्पराबाट आएका परिवारका सन्तान हुनुहुन्छ । उहाँका हजुरबुवा इन्डियन आर्मीका क्याप्टेन तथा बुवा पनि इन्डियन आर्मीमै कार्यरत हुनुहुन्थ्यो । अनुशासित र साधारण परिवेशमा हुर्कनुभएका गुरुङ गुरुङ समुदायको मूल्य, संस्कार र अनुशासनसँगै बढ्नुभयो । २०१७ सालमा वैवाहिक जीवनमा बाँधिनुभएका उहाँका तीन छोरा र दुई छोरी हुनुहुन्छ ।

बाल्यकाल र प्रारम्भिक जीवन
जन्मेको दुई वर्षमै बुवासँग भारतको ब्यारेकपुर पुग्नुभएका गुरुङले त्यहीँ कक्षा चारसम्म अध्ययन गर्नुभयो । २०१२ सालमा नेपाल फर्किएपछि स्याङ्जा हुँदै बुवाको अवकाशपछि २०१७ सालमा हालको शारदानगर, चितवन बसाइँ सर्नुभयो ।

बाल्यकालदेखि नै निर्भीक, स्पष्टवक्ता र खेलकुदप्रेमी उहाँको घर कांग्रेस गतिविधिको केन्द्रजस्तै थियो । राजनीतिक छलफल, संगठन निर्माण र लोकतन्त्रका विषयमा बहस भइरहने वातावरणले उहाँको चेतना प्रारम्भमै प्रजातन्त्रतर्फ उन्मुख गरायो ।

शिक्षा
२०२२ सालमा शारदानगर स्कुलबाट एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि काठमाडौं जानुभएका गुरुङले आई.एल. अध्ययन सुरु गर्नुभयो । तर बुवाको असामयिक निधनपछि पारिवारिक जिम्मेवारी काँधमा आइपरेपछि औपचारिक शिक्षा बीचमै रोकियो । यद्यपि व्यवहारिक ज्ञान, राजनीतिक चेतना र संगठनात्मक दक्षतामा उहाँ कहिल्यै पछि पर्नुभएन ।

राजनीतिक यात्राको सुरुवात
कांग्रेस पृष्ठभूमिमा हुर्कनुभएका गुरुङलाई २०१५ सालको निर्वाचन आज पनि ताजा सम्झना छ—बालक उमेरमै झण्डा बोकेर “रुखमा भोट हालौँ” भन्दै गाउँ–टोल डुल्ने उहाँको राजनीतिक चेतनाको पहिलो अभ्यास थियो । २०१८ सालको सैन्य दमन, धरपकड र निर्दोष नागरिकमाथिको अत्याचार उहाँले नजिकबाट देख्नुभयो । ती घटनाले उहाँलाई डराएनन्—बरु प्रजातन्त्रप्रतिको प्रतिबद्धता अझ दृढ बनायो ।

पञ्चायत विरुद्धको संघर्ष र नेतृत्व
विद्यालयमा अध्यापनपछि उहाँ वडा अध्यक्ष हुँदै २०२९ सालमा गाउँ पञ्चायत अध्यक्ष निर्विरोध निर्वाचित हुनुभयो । २०३५ सालमा शिवनगर, पार्वतीपुर र शारदानगरका क्षेत्र समेटिएपछि प्रधानपञ्च तथा सोही वर्ष जिल्ला विकास समिति सभापति बन्नुभयो । २०३६ सालको जनमतसंग्रहमा कांग्रेस पक्षमा खुलेर उभिएकै कारण २०३७ सालमा पञ्चायत सरकारले उहाँलाई पदबाट निलम्बन गर्‍यो। सत्ता गुम्यो, तर विचार र साहस कहिल्यै डगमगाएन ।

कांग्रेस संगठन निर्माणमा भूमिका
२०३९ र २०४३ सालमा जिल्ला सभापति निर्वाचित हुँदै उहाँ पाँच पटकसम्म चितवन कांग्रेसको नेतृत्वमा रहनुभयो । कांग्रेसको ८औँदेखि १४औँ महाधिवेशनसम्म निरन्तर महासमिति सदस्य र १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बन्नुभयो । पद उकालो लाग्दै गए पनि उहाँको पहिचान सधैं संगठन निर्माणमा खटिने, कार्यकर्तामुखी नेताकै रूपमा रह्यो ।

शीर्ष नेतृत्वसँगको निकटता
२०१६ सालमै बीपी कोइरालालाई देख्नुभएका र २०३२ सालमा प्रत्यक्ष भेट गर्नुभएका गुरुङ जमानसिंह गुरुङमार्फत बीपी, किसुनजी र गिरिजाप्रसाद कोइरालासँग निकट रहेर काम गर्नुभयो । यही संगतले उहाँलाई सैद्धान्तिक रूपमा दृढ र व्यवहारमा सन्तुलित नेतृत्वको अभ्यास गरायो ।

पदभन्दा पार्टी र सिद्धान्त
२०६२/६३ को जनआन्दोलनमा काठमाडौंको गंगबु क्षेत्रमा नेतृत्व गर्दै प्रहरीको कुटपिटबाट घाइते हुनु, ४९ दिन जेल जीवन बिताउनु र फेरि आन्दोलनमै फर्किनु उहाँका लागि राजनीतिक कर्तव्यका स्वाभाविक अध्याय थिए । २०७० सालको संविधानसभा निर्वाचनमा उम्मेदवारी प्रस्ताव आए पनि पार्टी हितका लागि पछि हट्नु तथा मन्त्री बन्ने प्रस्ताव अस्वीकार गर्नु उहाँको राजनीतिक नैतिकताको प्रमाण हो ।

नयाँ पुस्ताको भरोसा
जेनेरेशन–नेक्स्ट आन्दोलनलाई उहाँ असन्तोष मात्र नभई प्रणाली सुधारको चेतावनीका रूपमा बुझ्नुहुन्छ । कांग्रेस इतिहासको गौरवमा मात्र होइन, युवाको भरोसामा टिक्नुपर्छ भन्ने उहाँको धारणा छ ।

पार्टीमा कम्तीमा ५० प्रतिशत नयाँ पुस्ताको सहभागिता हुनुपर्छ भन्ने अडानकै कारण उहाँ गगन थापालगायत नयाँ पुस्ताका नेताहरूबीच विश्वासको पात्र बन्नुभएको छ ।

चितवन–३ का प्रमुख मुद्दा र विकास पहल
माडीलाई ‘प्राकृतिक जेल’बाट मुक्त गर्न राप्ती पुल निर्माणमा निर्णायक पहल, गर्दी–ठोरी सडक स्तरोन्नति तथा चेपाङ समुदायलाई नागरिक अधिकार र निःशुल्क शिक्षाको व्यवस्था उहाँका उल्लेखनीय योगदान हुन् । उहाँ विकासलाई भाषणमा होइन, व्यवहारमा उतार्ने नेतृत्वको उदाहरण मानिनुहुन्छ ।

चुनौती र अटल विश्वास
पाँच दशकको यात्रामा हार, अपमान र उपेक्षा कम थिएनन् । तर उहाँ कहिल्यै थाक्नुभएन ।
“कांग्रेसको एक मत पनि खेर गएन भने म जित्छु” भन्ने आत्मविश्वास लोभ–लाभबाट टाढा रहेको जीवनशैली र निष्ठाबाट जन्मिएको विश्वास हो ।

पारिवारिक साथ र व्यक्तिगत पीडा
राजनीतिक यात्रामा श्रीमतीको निरन्तर साथ उहाँको बल थियो। श्रीमतीको निधन उहाँको जीवनको सबैभन्दा ठूलो पीडा बने पनि पार्टी र जनताले दिएको विश्वास उहाँका लागि सबैभन्दा ठूलो सन्तोष हो ।

निष्कर्ष
टेकप्रसाद गुरुङ पदका लागि होइन, पुस्ताबीच सेतु बन्न उम्मेदवार हुनुहुन्छ । अनुभव, इमान्दारिता र परिवर्तनप्रतिको खुला सोचका आधारमा उहाँ आज चितवन–३ का लागि भूत, वर्तमान र भविष्यलाई जोड्ने भरोसायोग्य नेतृत्वका रूपमा उभिनुभएको छ ।

पाँच दशकको संघर्षले परिपक्व बनाएको यो नेतृत्व आज नयाँ पुस्ताको भरोसासँग हातेमालो गर्दै परिवर्तनको यात्रामा अग्रसर छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट