राष्ट्रिय आधारभूत विद्यालय भाराङमा पुस्तकालय र कम्प्युटर ल्याब उद्घाटन

रत्ननगर, २७ माघ ।
इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालय भाराङमा सपना भिलेज सोसियल इम्प्याकटको सहयोगमा १० सेट ल्यापटप हस्तान्तरण गरिएको छ । साथै विद्यालयमा निर्माण गरिएको पुस्तकालय र कम्प्युटर ल्याबको औपचारिक उद्घाटन सम्पन्न भएको छ ।

कार्यक्रममा सपना भिलेज सोसियल इम्प्याकटका संस्थापक धुर्व गिरीले ल्यापटप हस्तान्तरण गर्नुका साथै पुस्तकालय र कम्प्युटर ल्याबको उद्घाटन गर्नुभएको थियो । यसअघि पनि सपना भिलेज र इच्छाकामना गाउँपालिकाको संयुक्त लगानीमा विद्यालयको भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरिसकिएको छ । विद्यालयमा कम्प्युटर ल्याब र पुस्तकालयको आवश्यकता रहेकाले ती दुवै संरचनाको उद्घाटन तथा हस्तान्तरण गरिएको जनाइएको छ ।

कार्यक्रममा विद्यालय परिवार तथा विद्यार्थीहरूले सपना भिलेजप्रति विशेष धन्यवाद व्यक्त गरेका थिए । विद्यालयलाई भवन, फर्निचर, ल्यापटप, पुस्तकालय, बिहानको ब्रेड तथा दिउँसोको खाजा उपलब्ध गराई विद्यार्थीहरूलाई कुपोषणबाट जोगाउन सहयोग पुर्‍याएको भन्दै उनीहरूले कृतज्ञता प्रकट गरे ।
कार्यक्रममा वक्ताहरूले अहिले पनि चेपाङ समुदायका धेरै बालबालिकाले घरमा खानेकुरा अभावका कारण भोकै विद्यालय आउनुपर्ने बाध्यता रहेको यथार्थ प्रस्तुत गर्दै सपना भिलेजको सहयोग अत्यन्तै महत्वपूर्ण रहेको बताए ।

विद्यालयमा कम्प्युटर उपलब्ध गराइए पनि त्यसको प्रभावकारी प्रयोगका लागि दक्ष शिक्षकको अभाव रहेको उल्लेख गर्दै कम्प्युटर ल्याब सञ्चालनका लागि आवश्यक शिक्षक व्यवस्था गरिदिन आग्रहसमेत गरिएको थियो ।

यस अवसरमा विद्यार्थीहरूले कविता वाचनमार्फत आफ्ना भावना व्यक्त गरेका थिए । कवितामा सपना भिलेजको सहयोगले विद्यालयमा आशा, उज्यालो र भविष्यप्रतिको भरोसा बढेको, भौतिक संरचना मजबुत बनेको, विद्यार्थी संख्या वृद्धि भएको तथा शिक्षा र पोषण दुवै क्षेत्रमा सकारात्मक परिवर्तन आएको उल्लेख गरिएको थियो ।

कार्यक्रमले विद्यालय मात्र नभई समग्र चेपाङ समुदायको शैक्षिक तथा सामाजिक विकासमा सपना भिलेजको योगदान उल्लेखनीय रहेको सन्देश दिएको सहभागीहरूको भनाइ थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट