चितवन, २६ माघ ।
माडीमा नेपालमै पहिलोपटक सालक सम्मेलन सम्पन्न भएको छ । सोमबार चलेको सम्मेलन सालक संरक्षणका लागि ७ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न गरिएको हो ।
बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयको आयोजना तथा डिभिजन वन कार्यालय चितवनको संयोजनमा सम्मेलन आयोजना गरिएको हो । सम्मेलनको उद्घाटन गर्दै प्रदेश वन तथा वातावरण मन्त्री भरत केसीले सालक मानव र वन्यजन्तुबीचको सन्तुलन कायम गर्ने सारथी भएकाले यसको संरक्षणलाई वन संरक्षणसँग जोडेर अघि बढाउनुपर्ने बताए । सालकको मुख्य आहारा धमिरा नष्ट हुँदै गएको उल्लेख गर्दै उनले सालक मैत्री वातावरण निर्माणका लागि स्पष्ट कार्ययोजना बनाएर काम गर्ने प्रतिबद्धता जनाए ।
सम्मेलनमा बागमती प्रदेशका निवर्तमान वनमन्त्री कृष्णप्रसाद सिलवालले सालकको प्रमुख सत्रु डढेलो भएको बताउँदै यसको प्रभावकारी नियन्त्रण आवश्यक रहेको बताए। डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार सम्मेलनमा बागमती प्रदेशका डिभिजन वन कार्यालय प्रमुखहरू, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, चितवन राष्ट्रिय निकुञ्ज, जिल्लाका सामुदायिक वनका प्रतिनिधि तथा संरक्षणकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
सम्मेलनमा संरक्षित वन्यजन्तु सालकको वर्तमान अवस्था, संरक्षणको आवश्यकता, चुनौती तथा समाधानका उपायहरूबारे विस्तृत छलफल गरिएको थियो । सालक किसानको साथीसमेत भएकाले यसको संरक्षण अपरिहार्य रहेको आचार्यले बताए । बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव केदार बरालले प्रदेश सरकारले सालक संरक्षणका लागि नीति तथा कार्यक्रम बनाएर कार्यान्वयन अघि बढाइसकेको जानकारी दिए ।
सामुदायिक वन र सालक संरक्षणमा संलग्न सबै सरोकारवालालाई एकीकृत गर्ने उद्देश्यले आयोजना गरिएको यो सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरिएको छ । स्थानीय समुदाय तथा सामुदायिक वन उपभोक्ता समितिसँग मिलेर सालकको बासस्थान र आहारा संरक्षणलाई अभियानका रूपमा अघि बढाइने बताइएको छ ।
राष्ट्रिय निकुञ्ज ऐन २०२९ अनुसार सालक संरक्षित वन्यजन्तुमा सूचीकृत छ। पछिल्ला वर्षहरूमा यसको संख्या घट्दै जाँदा सालक लोपोन्मुख अवस्थामा पुगेको तथ्यांकले देखाएको छ ।





