सिकाइ र अनुभव साटासाट गर्दै हंस सहकारीको क्षमता अभिवृद्धि कार्यक्रम

चितवन, २६ माघ
नारायणगढमा प्रधान कार्यालय रहेको हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सेवा प्रवाहलाई अझ गुणस्तरीय, प्रभावकारी तथा सदस्यमैत्री बनाउने उद्देश्यले आयोजना गरिएको संस्थागत क्षमता अभिवृद्धि तथा अध्ययन अवलोकन कार्यक्रम माघ २३ र २४ गते सम्पन्न भएको छ ।

दुई दिने उक्त कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा जम्मा ३८ जनाको सहभागिता रहेकोमा १९ जना कर्मचारी सहभागी थिए ।

कार्यक्रमअन्तर्गत माडी–बसन्तपुरस्थित माडी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्ययन अवलोकन गरिएको थियो । सो अवसरमा त्यहाँको संस्थागत कार्यप्रणाली, सेवा प्रवाह, व्यवस्थापन प्रणालीलगायत विषयमा प्रस्तुति तथा अन्तरक्रिया गरिएको थियो ।

यसैगरी अयोध्या राम–जानकी मन्दिरमा दर्शन, सोमेश्वर गढीस्थित कालिका मन्दिर, शनि मन्दिर, माडी भ्यू टावर, ठोरी क्षेत्र, नेपाल–भारत सीमा क्षेत्र, कृषि फर्मलगायत धार्मिक, पर्यटकीय तथा भौगोलिक महत्वका स्थानहरूको अवलोकन गरिएको थियो ।

कार्यक्रमकै क्रममा माडी भ्यू सामुदायिक होमस्टेमा सञ्चालक समिति, उपसमिति तथा कर्मचारीहरूको संयुक्त बैठक सम्पन्न भएको थियो । बैठकमा संस्थालाई आगामी दिनमा थप मजबुत, दिगो र प्रभावकारी रूपमा अगाडि बढाउने विषयमा रणनीतिक छलफल गरिएको थियो । सहभागीहरूले संस्थागत सुशासन, सेवा विस्तार, सदस्य सन्तुष्टि तथा आन्तरिक समन्वयलाई अझ सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए ।

अध्ययन, अवलोकन तथा अन्तरक्रियाबाट प्राप्त अनुभव, उपलब्धि र सुझावहरूमाथि सामूहिक छलफल गर्दै दुई दिने संस्थागत क्षमता अभिवृद्धि, अध्ययन अवलोकन तथा पुनर्ताजगीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको संस्थाले जनाएको छ ।

कार्यक्रमबारे धारणा राख्दै संस्थाका अध्यक्ष दिनेश कुमार चुकेले यस्ता कार्यक्रमले नेतृत्व तह र कर्मचारीबीचको समझदारी बढाउने, संस्थागत सोचलाई फराकिलो बनाउने तथा सहकारीलाई अझ सक्षम बनाउँदै लैजान महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले प्राप्त सिकाइ र अनुभवलाई व्यवहारमा उतार्दै संस्थालाई थप मजबुत बनाइने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी कार्यक्रमका सञ्चालक तथा संस्थाका प्रबन्धक नारायणप्रसाद सापकोटाले अध्ययन अवलोकन, छलफल र सामूहिक सहभागिताले कर्मचारी तथा नेतृत्व तहमा नयाँ ऊर्जा, ज्ञान र उत्साह थपिएको उल्लेख गरे । उनले प्राप्त सुझाव र अनुभवलाई संस्थाको भावी योजना तथा कार्यदिशामा उपयोग गरिने बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट