चितवन, २६ माघ ।
दुग्धजन्य उत्पादनको व्यवसायिकता प्रवर्द्धन, किसानलाई प्रोत्साहन, डेरी उद्योगमा आधुनिक प्रविधिको प्रयोग तथा उद्यमशीलताको दिगो विकास गर्ने उद्देश्यसहित चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड र चितवन उद्योग संघको संयुक्त आयोजनामा ‘अन्तर्राष्ट्रिय डेरी प्रदर्शनी–२०८२’ सुरु भएको छ ।
भरतपुर महानगरपालिका–१० स्थित चितवन प्रदर्शनी केन्द्रमा सुरु भएको प्रदर्शनी ‘डेरीमा प्रविधि, अर्थतन्त्रमा समृद्धि’ भन्ने नारासहित आयोजना गरिएको हो । उद्घाटन कार्यक्रममा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष किशोर बगाले र चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेको संयुक्त अध्यक्षता रहेको थियो ।
कार्यक्रममा संघका अध्यक्ष किशोर बगालेले स्वागत मन्तव्य दिँदै प्रदर्शनीको उद्देश्य र महत्वबारे जानकारी गराएका थिए। कृषि तथा पशुपन्छी विकास मन्त्रालय (पशु विकासतर्फ) का सचिव डा. दीपक खराल प्रमुख अतिथिका रूपमा उपस्थित थिए । उनले प्रदर्शनीले साना किसान, उद्योगी तथा व्यापारीलाई डेरी उत्पादन प्रक्रिया र वितरण प्रणालीबारे सहयोग पुग्ने बताए । साथै, बी–टु–बी बैठकमार्फत डेरीजन्य उत्पादनको निर्यात प्रवर्द्धन तथा कृषि सहकारीलाई औद्योगिक उत्पादनतर्फ प्रेरित गर्न प्रदर्शनी उपयोगी हुने धारणा व्यक्त गरे ।
कार्यक्रममा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका सल्लाहकार तथा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका उपाध्यक्ष भागिरथ तिमिल्सिना, नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहाल, डेरी उद्योग संघ नेपालका अध्यक्ष राजकुमार दाहाल, वाग्मती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष हरि पौडेल, राष्ट्रिय दुग्ध विकास संस्थानका महाप्रबन्धक सञ्जीव झा, राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादव, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष अमरबहादुर कुँवर, पशुपन्छी तथा मत्स्य विकास महाशाखाका सहसचिव डा. शरण पाण्डे, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपकुलपति प्रा.डा. शारदा थपलियालगायतले प्रदर्शनी सफलताको शुभकामना व्यक्त गरेका थिए ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका सचिव कल्याण अधिकारीले सञ्चालन गरेको कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले धन्यवाद मन्तव्यसहित कार्यक्रम समापन गरेका थिए ।
प्रदर्शनीअन्तर्गत माघ २६ गते ‘मानव स्वास्थ्यमा दुग्धजन्य पदार्थको आवश्यकता र महत्व’ विषयक वक्तृत्वकला प्रतियोगिता, माघ २७ गते ‘दुध उत्पादनको वर्तमान अवस्था, बजार समस्या र समाधानका उपाय’ विषयमा कार्यपत्र प्रस्तुति तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । प्रस्तुत कार्यपत्रहरूमा पशुपालनमा देखिने रोग र उपचार विधि, दुधको गुणस्तरीय उत्पादन तथा उत्पादकत्व वृद्धिमा प्रविधिको प्रयोग, दुग्ध क्षेत्रको वर्तमान अवस्था, चुनौती र नीतिगत व्यवस्थाबारे छलफल गरिने छ । माघ २८ गते दुग्ध क्षेत्रसम्बन्धी हाजिरीजवाफ प्रतियोगिता, उन्नत जातका गाईको प्रदर्शनी तथा सातै प्रदेशबाट सिफारिस भएका उत्कृष्ट दुग्ध उत्पादक सहकारीलाई सम्मान गरिने आयोजकले जनाएको छ ।
प्रदर्शनीमा डेरी उद्योगी, उद्यमी बन्न इच्छुक व्यक्ति, नीति निर्माता, सरकारी कर्मचारी, अनुसन्धानकर्ता, लगानीकर्ता, विद्यार्थी, दुग्ध उत्पादक किसान, उद्योग सञ्चालक, बैंक तथा बीमा कम्पनीका प्रतिनिधिसहित करिब ५० हजार अवलोकनकर्ताले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।
आयोजकका अनुसार निःशुल्क प्रवेश रहेको प्रदर्शनी माघ २९ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा नेपाल तथा छिमेकी देश भारतका डेरीजन्य स्टलहरू, डेरी प्रोसेसिङ तथा पशु आहार उद्योगसम्बन्धी मेशिनरी, सफ्टवेयर, प्याकेजिङ उद्योग, पशु औषधि तथा भेटेरिनरी सेवा, बैंक, बीमा र स्टार्टअप प्याभिलियनसहित कुल ८४ वटा स्टल सहभागी छन् ।
प्रदर्शनीलाई सफल बनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालय र राष्ट्रिय दुग्ध विकास बोर्ड मुख्य प्रवर्द्धक तथा सह–आयोजकका रूपमा रहेका छन् ।





