गुलाफमा देखिने कालो थोप्ला रोग के हो?

गुलाफलाई फूलहरूको राजा मानिन्छ । विशेष सौन्दर्य र सुगन्धले नै यो फूललाई अन्यभन्दा फरक पहिचान दिएको छ । चाहे घरको बगैँचा सजाउन होस् वा व्यावसायिक खेती गरेर आम्दानी गर्न, गुलाफ सधैं पहिलो रोजाइमा पर्ने गर्दछ । तर यति सुन्दर र लोभलाग्दो गुलाफको बोटलाई एउटा यस्तो अदृश्य शत्रुले सताइरहेको हुन्छ जसले गर्दा सुन्दर पातहरू कुरूप हुने र विस्तारै बोट नै मर्ने अवस्थामा पुग्छ। त्यो शत्रु हो, ‘कालो थोप्ला’ (Black Spot) रोग । धेरैजसो गुलाफ कृषकहरूका लागि टाउको दुखाइ बन्ने गरेको यस रोगले गुलाफको आर्थिक र सौन्दर्य दुवै पक्षमा ठूलो क्षति पुर्‍याउँछ।

ब्ल्याक स्पट वा कालो थोप्लाको रोग धेरै प्रकारका बिरुवाहरूमा लाग्ने गर्दछ तर धेरैजसो मालीहरू यसलाई गुलाफमा लाग्ने ‘रोज ब्ल्याक स्पट’ को रूपमा चिन्छन्। गुलाफ उत्पादकहरूका लागि यो एक ठूलो समस्या हो किनकि यसले गुलाफको शारीरिक बनोट र सौन्दर्यलाई बिगार्छ। बजारमा गुलाफको माग यसको सुन्दरताका कारण उच्च हुन्छ तर यो रोगले गर्दा गुलाफको व्यापारिक मूल्यमा ठूलो चुनौती थपिएको छ ।

यो रोग डिप्लोकार्पन रोजी (Diplocarpon rosae) नामक फंगस (ढुसी) का कारण लाग्छ। यो रोग सन् १८३० मा पहिलो पटक संयुक्त राज्य अमेरिकामा देखिएको थियो र त्यसयता यो विश्वभर फैलिएको छ। प्रभावकारी व्यवस्थापन नगरेको खण्डमा भने गुलाफको बोटलाई निकै कमजोर बनाउँछ । जसकारण जाडोको मौसममा बिरुवा मर्ने वा अन्य कारणले सुकेर जाने सम्भावना बढ्छ।

यो ढुसीले पातको माथिल्लो र तल्लो दुवै सतहबाट सिधै आक्रमण गर्छ। यो विभिन्न तापक्रममा जीवित रहन सक्छ तर संक्रमणका लागि उच्च आर्द्रता (Humidity) ले भूमिका खेलेको हुन्छ। पातहरू ६ घण्टा वा सोभन्दा बढी समयसम्म भिजिरहेमा यो रोग छिटो विकसित हुन्छ।

गुलाफमा कालो थोप्ला रोग कसरी पहिचान गर्ने ?

गुलाफमा कालो थोप्ला रोग लाग्दा निम्न प्रकारका प्रारम्भिक लक्षण र संकेतहरू देखिन्छन् :

  • पातको माथिल्लो सतहमा साना कालो वा गाढा खैरो थोप्लाहरू देखिनु।
  •  थोप्लाका किनारहरू अनियमित वा खस्रा हुनु।
  •  कालो थोप्लाको वरिपरिको पातको भाग पहेँलो हुनु।
  •  संक्रमित पातहरू पहेँलो भएर समय नपुग्दै झर्नु।
  •  रोग प्रायः तल्लो पातहरूबाट सुरु भएर बिस्तारै माथितिर फैलिनु।
  •  पातहरूको संख्या कम हुनु जसले गर्दा बिरुवा कमजोर र अस्वस्थ देखिनु।
  • कहिलेकाहीँ कलिला डाँठहरूमा पनि गाढा दागहरू देखिनु।

यी लक्षणहरूले प्रारम्भिक चरणमै रोग पहिचान गर्न र समयमै उपचार गर्न मद्दत गर्छन्।

आजभोलि यो रोग किन बढी फैलिरहेको छ ?

परिवर्तित मौसमका कारण आजभोलि ब्ल्याक स्पट रोग तीव्र रूपमा फैलिरहेको छ। बढ्दो आर्द्रता र बारम्बारको वर्षाले ढुसी बढ्नका लागि उपयुक्त वातावरण सिर्जना गर्छ। वर्षाको पानीका थोपाहरूले संक्रमित पातबाट स्वस्थ पातमा कीटाणु (Spores) सार्न मद्दत गर्छन्।

यसका साथै जलवायु परिवर्तनले मौसमको ढाँचालाई अनिश्चित बनाएको छ । जसकारण गर्दा गुलाफ फुल्ने मौसममा लामो समयसम्म झरी पर्ने र ओस रहने गर्छ। बिरुवाहरूलाई धेरै बाक्लो गरी रोप्नु र हावाको आवतजावत कम हुनाले पनि पातहरू लामो समयसम्म ओसिलो रहन्छन्, जसले गर्दा यो रोग सजिलै फैलिन्छ।

undefined

गुलाफको गुणस्तर र बिक्रीमा यसको असर

यो रोगले गुलाफको गुणस्तर र बजार मूल्य दुवैमा गम्भीर असर पार्छ। पातहरूमा दाग लाग्ने र झर्ने हुनाले बिरुवा कुरूप देखिन्छ। गुलाफ मुख्यतया यसको सुन्दरताका लागि रोपिने हुनाले यसको सजावटी मूल्य घट्छ।

पातहरू झरेपछि बिरुवाले खाना बनाउने प्रक्रिया (Photosynthesis) कम हुन्छ । जसले गर्दा थोरै फूल फुल्ने, फूलको आकार सानो हुने र समग्र उत्पादन घट्ने हुन्छ। गुणस्तरमा गिरावट आएपछि बजारमा उचित मूल्य पाइँदैन। गम्भीर अवस्थामा रोग नियन्त्रणका लागि लाग्ने थप खर्च र ग्राहकको कम चाहनाका कारण उत्पादक र बिक्रेताहरूले आर्थिक क्षति व्यहोर्नुपर्ने हुन्छ।

गुलाफ खेती गर्दा ध्यान दिनुपर्ने कुराहरू

केही साधारण र समयसापेक्ष अभ्यासहरू अपनाएर यो रोगको प्रभाव कम गर्न सकिन्छ :

१. संक्रमित पात हटाउने : संक्रमित पातहरू टिपेर नष्ट गर्नाले रोग थप फैलिन पाउँदैन।

२. काँटछाँट र दूरी : बिरुवाहरूबीच उचित दूरी कायम गर्ने र काँटछाँट गर्नाले हावाको आवतजावत बढ्छ र पातहरू छिटो सुक्छन्।

३. सिँचाइमा ध्यान : पानी हाल्दा पातमा नपारी सिधै फेदमा हाल्नुहोस्।

४. नियमित अनुगमन : बिरुवाको नियमित निरीक्षण गर्नाले सुरुवाती चरणमै रोग पत्ता लाग्छ।

५. प्रतिरोधी प्रजाति : रोग प्रतिरोधात्मक क्षमता भएका गुलाफका प्रजातिहरू छनोट गर्नुहोस्।

६. विषादीको प्रयोग : आवश्यकता अनुसार विशेषज्ञको सल्लाहमा उपयुक्त ढुसीनाशक (Fungicide) प्रयोग गर्नुहोस्।

सजगता र बगैँचाको सरसफाइमा ध्यान दिएर हामी यस रोगको संक्रमणलाई धेरै हदसम्म कम गर्न सक्छौं ।

(खनालले त्रिभुवन विश्वविद्यालयको वनस्पति शास्त्र केन्द्रीय विभागबाट स्नातकोत्तर तह पूरा गरेकी हुन् ।)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट