चितवन क्षेत्र नम्बर २ मा मीना खरेल : किन धेरै मतदाताको रोजाइ बन्दैछिन् ?

चितवन, २४ माघ ।
प्रतिनिधिसभाको आसन्न निर्वाचनसँगै चितवन क्षेत्र नम्बर २ मा राजनीतिक बहस तीव्र बनेको छ । विभिन्न दल र उम्मेद्वारबीच प्रतिस्पर्धा रहँदा, नेपाली काँग्रेसकी उम्मेद्वार मीना खरेललाई लिएर पनि सकारात्मक चर्चा बढ्दो छ । सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएकी खरेललाई कतिपय मतदाताले यसपटक उपयुक्त विकल्पका रूपमा हेर्न थालेका छन् ।

मीना खरेललाई चिनाउने प्रमुख पक्ष भनेको उहाँको समाजसेवी पृष्ठभूमि हो । विशेषगरी महिला, छोरीहरू र हिंसामा परेका व्यक्तिहरूको पीडामा उहाँको सक्रिय उपस्थितिले उहाँलाई ‘सडकबाट संघर्ष गर्दै आएको नेतृत्व’को रूपमा स्थापित गरेको धेरैको बुझाइ छ । अन्याय देख्दा चुप नबस्ने, पीडितका पक्षमा उभिने र न्यायका लागि पहल गर्ने साहस उहाँको राजनीतिक पहिचानको मुख्य आधार मानिन्छ ।

राजनीतिमा प्रवेश गर्नुअघि नै समाजमा गहिरो रूपमा भिजेकी खरेलले समस्या कागजमा मात्र होइन, जीवनको यथार्थमा देखेकी छिन् भन्ने मत पनि सुनिन्छ । यही अनुभवका कारण नीति निर्माणको थलो संसद्मा पुगेर व्यवहारिक र दिर्घकालीन समाधान खोज्न सक्ने नेतृका रूपमा उहाँलाई हेर्नेहरू बढिरहेका छन् ।

कतिपय मतदाताले व्यक्तिगत अनुभवका आधारमा पनि खरेलप्रति भरोसा व्यक्त गरेका छन् । महिला हिंसाजस्ता संवेदनशील विषयमा उहाँको संवादशैली, व्यवहारिकता र मानवीय दृष्टिकोणले प्रभावित भएको प्रतिक्रिया सुनिन्छ । यसले उहाँलाई केवल उम्मेद्वार मात्र होइन, विश्वास गर्न सकिने प्रतिनिधिका रूपमा बुझ्ने आधार दिएको छ ।

यस क्षेत्रको प्रतिस्पर्धा भने सरल छैन । राष्ट्रिय राजनीतिमा चर्चित व्यक्तित्व रवि लामिछाने पनि यही क्षेत्रमा प्रतिस्पर्धामा छन् । अघिल्लो निर्वाचनमा उल्लेखनीय मतसहित विजयी भएका लामिछानेप्रति पनि मतदाताको ठूलो चासो छ । यद्यपि, उहाँसँग सम्बन्धित केही विषयहरू हाल न्यायिक प्रक्रियामा रहेकाले कतिपय मतदाताले यसपटक विकल्पबारे गम्भीर समीक्षा गरिरहेको देखिन्छ ।

विश्लेषकहरू भन्छन्— यस्तो अवस्थामा मतदाताले उम्मेद्वारको व्यक्तित्व, अनुभव, विगतको योगदान र भविष्यको स्थायित्व सबै पक्षलाई तौलनु स्वाभाविक हो । यही तौल–मापनको प्रक्रियामा मीना खरेल धेरैका लागि सम्भावित र सुरक्षित विकल्पका रूपमा उभिएकी देखिन्छिन् ।
अन्ततः लोकतन्त्रमा निर्णय गर्ने अधिकार मतदाताकै हो । सोच्ने, तुलना गर्ने र विवेक प्रयोग गर्ने स्वतन्त्रता नै लोकतन्त्रको सुन्दरता हो । चितवन क्षेत्र नम्बर २ का मतदाताले पनि आफ्ना आवश्यकता, अपेक्षा र क्षेत्रको भविष्यलाई केन्द्रमा राखेर निर्णय गर्ने विश्वास व्यक्त गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट