र्‍यान्डम रिडर्समा कथाकार लक्ष्मण वियोगीको कृति ‘सत्यम्‌’को परिचर्चा

पोखरा, २४ माघ ।
पत्रकार तथा कथाकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्‌’माथि शनिबार पोखरामा परिचर्चा गरिएको छ ।

र्‍यान्डम रिडर्स सोसाइटीले आफ्नो नियमित श्रृङ्खला अन्तर्गत गरेको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सहप्राध्याकसमेत रहेका समालोचक डा. नेत्र एटमले ‘सत्यम्‌’को परिचर्चा गरे । उनले कथकारले अनुभव र स्मृतिको संयोजन गरेर कृति सिर्जना गरेकाले कथाहरू जीवन्त बनेको धारणा राखे ।

कथाकारले अवलोकन, अन्तरक्रिया र अभिलेखलाई सामग्री सङ्कलनको पद्धति बनाउने गरेको बताउँदै एटमले ‘सत्यम्‌’का कथामा अवलोकनलाई अधिक महत्त्व दिइएको बताए । सामाजिक तथा सांस्कृतिक पक्ष समेटिनु कथाहरूको बलियो पक्ष भएको पनि धारणा राखेका थिए ।

सोसाइटीका अध्यक्ष दीपक पराजुलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा साहित्यकार सरुभक्तले कथाकार वियोगीका कथाले जनमानसलाई छुन सक्ने सामर्थ्य राख्ने बताए । उनले र्‍यान्डम रिडर्स सोसाइटीले गर्ने बौद्धिक बहसको एउटा सुन्दर शृङ्खलामा सहभागी हुन पाएकामा खुसी व्यक्त गरे ।

कार्यक्रममा कथाकार वियोगीले आफूले जीवनका विभिन्न मोडमा देखेका र भोगेका विषषयवस्तुलाई कथामा उतारेको अनुभव सुनाए । उनले ‘सत्यम्’भित्रका कथाहरू समय र सत्यका आवाज भए पनि कतिपयमाथि आफूले न्याय गर्न नसेको स्वीकार गर्दै अनुभवलाई कलाको लेपन लगाएर आफूले कथाको स्वरूप तयार पारेको बताए । १५ ओटा कथा समेटिएको यो उनको पहिलो कथा सङ्ग्रह हो ।

सोसाइटीका सदस्य खिम लामिछाने ‘काजी’ले सञ्चालनमा गरेको कार्यक्रममा साहित्यकार सरस्वती प्रतीक्षा र सुरज पौडेलले समेत टिप्पणी गरेका थिए । सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै पुस्तक वा विषयमाथि परिचर्चा गर्दै आएको छ ।

पेज टर्नर प्रालिले बजारमा ल्याएको कृतिको गत जेठ २४ गते काठमाडौँमा विमोचन भएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट