चितवन, २० माघ ।
आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर १ ले घरदैलो अभियान सुरु गरेको छ ।
अभियानअन्तर्गत सोमबार राप्ती नगरपालिका–८ र ७ का मतदातासँग भेटघाट गर्दै कांग्रेस चितवन–१ का उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले बद्लिँदो कांग्रेस जेन–जी युवाले उठाएका मुद्दा बोकेर चुनावी मैदानमा उत्रिएको बताएका छन् ।
उनले लोकतन्त्रको सुदृढीकरण, विकास निर्माण तथा जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । घरदैलोका क्रममा मतदातामा उत्साह देखिएको उल्लेख गर्दै उनले वृद्धवृद्धा, महिला तथा जेन–जी युवाबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताए ।
‘घरदैलो कार्यक्रममा जहाँ पुगेँ, त्यहाँ राजेन्द्र बुर्लाकोटीलाई भोट दिनुपर्छ भन्ने माहोल पाएँ,’ उनले भने, ‘धेरै आमाबुबाले शिरमा हात राखेर आशीर्वाद दिनुभएको छ । विगतमा गरेको समाजसेवा र मानवीय सेवाका आधारमा मतदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।’
घरदैलो अभियानका क्रममा किसान, युवा, संघसंस्था, शिक्षक तथा महिलाहरूले स्थानीयस्तरमा आवश्यक विकास, पूर्वाधार, कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यसँग सम्बन्धित समस्या तथा सुझाव राखेका थिए ।
निर्वाचन परिचालन मूल समितिका संयोजक किरणभूषण सिंह ओलीले व्यक्तिगत आकांक्षा र लोभभन्दा टाढा रहेर पाँच दशकदेखि समाजसेवामा सक्रिय बुर्लाकोटीप्रति मतदाताको खुलेर समर्थन देखिएको बताए ।
उनले भने, ‘लोकतन्त्र, विचार, सिद्धान्त र स्थानीय मुद्दालाई राम्रोसँग बुझेका उम्मेदवार बुर्लाकोटीको पक्षमा जनलहर बढ्दै गएको छ । जनता भोट हाल्न आतुर छन्। हाम्रा उम्मेदवार शालीन ढङ्गले प्रस्तुत हुनुभएको छ ।’
‘बद्लियौँ कांग्रेसः बदल्छौँ देश’ भन्ने मूल नारासहित कांग्रेसका कार्यकर्ता एकताबद्ध भएर चुनावी अभियानमा जुटेको बताउँदै उनले पार्टी सफल हुने विश्वास व्यक्त गरे ।





