मकवानपुर, १७ माघ ।
झरना साहित्यिक परिवार मकवानपुरले सातौं बकैया-कला साहित्य महोत्सव-२०८२ मा विभिन्न विधामा ११ स्रष्टालाई सम्मान गर्ने भएकाे छ ।झरनाले ३२३ औं साहित्य शृङ्खला एवम् ३३ औं वार्षिक उत्सवका अवसरमा आयोजना गर्ने महाेत्सवमा विभिन्न विधामा उनीहरुलाई पुरस्कारसहित सम्मान गर्ने भएकाे हाे ।
शनिबार हेटौंडामा पत्रकार भेटघाट गर्दै झरनाले उक्त पुरस्कार तथा महाेत्सवमा बारेमा जानकारी दिएकाे हाे । झरना साहित्यिक परिवारले आगामी ५ र ६ फागुनमा महेन्द्र मावि, बकैयामा ३२३ औं साहित्य शृङ्खला एवम् ३३ औं वार्षिक उत्सव र महाेत्सव कार्यक्रम गर्ने झरनाकी अध्यक्ष गायत्री रुपाखेतीले जानकारी दिइन् ।
झरनाले साहित्यमा योगदान गरेबापत प्रदान गरिने नगद २१ हजार १ सय २१ रुपैयाँ राशि सहितको होमनाथ–टीकामाया प्रतिभा सम्मान–२०८२ बाट पाँचथरका रमेश शुभेच्छुकलाई सम्मानित गर्ने भएकाे छ । बकैयाका साहित्यसेवी नुरप्रसाद गौतमले मातापिताको स्मृतिमा उक्त सम्मान स्थापना गरेका हुन् ।
यस्तै मुक्तक विधामा योगदान गरेवापत प्रदान गरिने नगद १५ हजार ५ सय ५५ रुपैयाँ राशि सहितको शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान–२०८२ बाट रुकुम पश्चिमका कर्णबहादुर खत्रीलाई सम्मानित गरिने भएकाे छ । साहित्यकार रमेशमोहन अधिकारीले मातापिताको नाममा स्थापना गरेको गरेकाे यो पुरस्कार चैतको चौंथो शनिबार हेटौंडामा आयोजना हुने मुक्तक साँझमा प्रदान गरिनेछ आयोजकले जनाएकाे छ ।
यसैगरी जिल्लामा साहित्यिक संस्था स्थापना र जगेर्ना गर्न योगदान गरेबापत प्रदान गरिँदै आएकाे नगद १५ हजार ५ सय ५५ रुपैयाँ राशिको बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान–२०८२ बाट मकवानपुरका साहित्यकार डा. निमेष निखिल सम्मानित हुने भएका छन् । साहित्यसेवी विनोद सुवेदीले उक्त सम्मान मातापिताको नाममा स्थापित गरेकाे हुन् ।
साहित्यमा योगदान गरेका युवा साहित्यकारलाई प्रदान गरिने नगद ८ हजार ५ सय रुपैयाँ राशिको खडानन्द–मनमाया प्रतिभा सम्मान–२०८२ बाट नेपालगञ्जकी ऋचा लुइटेल सम्मानित हुने भएकी छिन् । साहित्यसेवीहरू अर्पण पराजुली र दर्पण पराजुलीले मातापिताको सम्मानमा उक्त पुरस्कार स्थापित गरेका हुन् ।
यस्तै मकवानपुरका महिला साहित्यकारलाई प्रदान गरिने नगद ७ हजार ७ सय ७७ रुपैयाँँ राशिको सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान–२०८२ बाट मकवानपुरकी संगीता थापा सम्मानित हुने भएकी छिन् । साहित्यसेवी राजन दङ्गालले आफ्नी छोरीको स्मृतिमा उक्त पुरस्कार स्थापना गरेका हुन् ।
मकवानपुरको साहित्यकाे सेवा गरे वापत प्रदान गरिदै नगद ७ हजार ७ सय ७७ रुपैयाँ राशिकाे सञ्जीवन-बुटी साहित्य सम्मान–२०८२ बाट मकवानपुरका डा. अर्पण पराजुली सम्मानित हुने भएका छन् । साहित्यसेवी तुलसी गिरीले उक्त पुरस्कार स्थापना गरेका हुन् ।
मकवानपुरमा रही संस्थाको गतिविधिलाई पत्रकारिताका माध्यमबाट सहयोग गरेवापत पत्रकार प्रदान गरिँदै आएकाे नगद ११ हजार १ सय ११ रुपैयाँ सहित गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान–२०८२ बाट मकवानपुरका पत्रकार दीपक अधिकारी सम्मानित हुने भएका छन् । गोकर्ण गौतमको परिवारद्वारा उक्त पुरस्कार स्थापना गरेका हुन् ।
बकैयाका नवप्रतिभाको सम्मान गर्ने उदेश्यले स्थापना भएकाे नगर ५ हजार ५ सय ५५ रुपैयाँ राशिको झरना–बकैया नवप्रतिभा पुरस्कार–२०८२ बाट बकैया ३ स्थित बुद्धमावि हात्तीसुढेकी मोनिका नेगी सम्मानित हुने भएकी छिन् । बकैयाका चन्द्रकुमार राईले उक्त पुरस्कार स्थापना गरेका हुन् ।
बकैयामा रही कला क्षेत्रकाे माध्यमबाट योगदान गरेवापत प्रदान गरिदै आएकाे नगद ७ हजार ७ सय ७७ रुपैयाँ राशिकाे खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान–२०८२ बाट मकवानपुरका सूर्य सन्यासी सम्मानित हुने भएका छन् । बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले आफ्ना पिताको नाममा उक्त पुरस्कार स्थापना गरेका हुन् ।
यसैगरी छन्द कवितामा योगदान गरेवापत प्रदान गरिदै आएकाे नगद ९ हजार ९ रुपैयाँ राशिकाे ऋषेश्वर–रुक्मिणी–लक्ष्मीदेवि खनाल साहित्य सम्मान–२०८२ बाट भैरहवाकी सिर्जना खनाल सम्मानित भएकी छिन् । जर्नादन खनालले आफ्ना मातापिताको नाममा उक्त पुरस्कार स्थापना गरेका हुन् ।
यसै वर्ष स्थापना भएकाे ‘कुलकुमारी झलकनाथ लोक साहित्य सम्मान-२०८२’ बाट बझाङका साहित्यकार एवं लोकगायक नन्दकृष्ण जोशी सम्मानित हुने भएका छन् । आफ्ना मातापिताको सम्मानमा झरना साहित्यिक परिवार मकवानपुरका संरक्षक उद्धव सापकोटा तथा भरत सापकोटाद्वारा स्थापित नगद ११ हजार १११ रुपैयाँ राशिकाे उक्त सम्मान लोक गीतसंगीतमा सेवा गरेबापत प्रदान गरिने झरनाले जनाएको छ ।
महेन्द्र मावि, बकैया -४ मकवानपुरकाे सहकार्य तथा बकैया गाउँपालिकाकाे प्रायोजकमा उक्त कार्यक्रम हुने भएकाे छ । अध्यक्ष रुपाखेतीका अनुसार महाेत्सवमा पुरस्कार समर्पणका अलावा चित्रकला प्रदर्शनी, पत्रिका विमोचन, विभिन्न जातजातिका नृत्यहरू, बकैयाको काव्य महक, समकालीन गजल मुक्तक उत्सव, पालिका अध्यक्षलाई ७ प्रश्न, समकालीन काव्य उत्सव, सम्मानित स्रष्टा तथा नवसर्जक रचना वाचनको कार्यक्रम हुनेछ ।
पत्रकार भेटघाटमा झरनाकी अध्यक्ष गायत्री रूपाखेती, उपाध्यक्ष कृष्ण घतानी, सचिव नीलहरि ढुङ्गेललगायत उपस्थित थिए ।





