तनहुँ (पुलिमराङ), १६ माघ ।
ऐतिहासिक विरासत बोकेको गाउँ पुलिमराङमा ‘बखान’ उपन्यासमाथि परिचर्चा गरिएको छ । सहिद दिवसको अवसरमा शुक्रबार उक्त उपन्यासमाथि परिचर्चा कार्यक्रम सम्पन्न भएको हो ।
वि.सं. २००७ सालको क्रान्तिमा बन्दिपुर कब्जाका क्रममा धर्मध्वज गुरुङले पुलिमराङमै सहादत प्राप्त गरेका थिए । त्यसैगरी २०१८ सालको क्रान्तिमा थप पाँच जनाले यही भूमिमा सहादत प्राप्त गरेका थिए । सहादत प्राप्त गर्ने लालध्वज र धर्मध्वजका पिता बखानसिंह गुरुङको जन्मभूमि पुलिमराङ हो ।
कार्यक्रममा बोल्दै समिक्षक भूपिन खड्काले पुलिमराङको सांस्कृतिक विम्बलाई बखानसिंह गुरुङको जीवनीमार्फत सुन्दर ढंगले प्रस्तुत गरिएको ऐतिहासिक उपन्यास ‘बखान’ले बखानसिंहको राजनीतिक, सामाजिक तथा समाजसुधारक भूमिकालाई उजागर गरेको बताउनुभयो ।
“देश चेतनाले चल्छ। बखानसिंह गुरुङ चेतनाका विम्ब हुन्, जसलाई पढिनु आवश्यक छ,” उहाँले भन्नुभयो ।
तनहुँको व्यास नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा समिक्षक सबिना भूषालले बखानसिंह गुरुङ समाज सुधारका प्रेरणादायी पात्र भएको उल्लेख गर्नुभयो ।
“इतिहास बुझ्न ‘बखान’ पढ्नुपर्छ । विद्यार्थीलाई इतिहास पढाउन यो उपन्यासलाई पाठ्यक्रममा समावेश गर्नुपर्छ,” उहाँले भन्नुभयो ।
कार्यक्रममा २०१८ सालका सहिद भारत गुरुङकी नातिनी माया गुरुङले सहिद परिवारलाई समेटेर लेखिएको ‘बखान’ पठनयोग्य कृति भएको बताउनुभयो ।
त्यस्तै, व्यास नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष युवराज गुरुङले पुलिमराङको गहिरो राजनीतिक विरासत रहेको उल्लेख गर्नुभयो ।
“यस गाउँका युवाहरूको अटल साहस र प्रतिबद्धताले स्वेच्छाचारी शासकहरू तरङ्गित भएका थिए, जुन कुरा ‘बखान’ उपन्यासमा स्पष्ट रूपमा देख्न सकिन्छ,” उहाँले भन्नुभयो ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश सभाका सांसद कृष्णकुमार श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो ।
सो अवसरमा ‘बखान’ उपन्यासका लेखक वसन्त पराजुलीलाई पुलिमराङका आमा समूहले गुरुङ संस्कृतिअनुसार सम्मान गरेका थिए ।
सहिद दिवसको अवसरमा नगरपालिकाले विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता तथा आठौँ व्यास नगर अल्ट्रा म्याराथन प्रतियोगिता समेत आयोजना गरेको थियो ।





